मधेसका मुख्यमन्त्री यादवले सदनमा मागे विश्वासको मत – Nepal Press

मधेसका मुख्यमन्त्री यादवले सदनमा मागे विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभा बैठकमा सम्पूर्ण दलका सांसदहरुसँग विश्वासको मत मागेका छन् ।

प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री यादवले सबैको सहयोग र सहकार्यमा जनतालाई महसुस हुनेगरी विकास निर्माणको काम गर्ने भन्दै विश्वासको मत दिन सांसदहरुसँग अपिल गरे । उनले अब बिचौलियाबाट विकास निर्माणको काम नहुने पनि बताए ।

उनले भने, ‘अब विकासको काम बिचौलियाबाट हुने छैन । माननीय ज्यूहरूकै निगरानी र तोकिएको प्रतिनिधिको रोहबरमा विकासको काम हुनेछ ।’ उनले सबै दलका प्रतिनिधि र सचिवलाई राखेर साझा योजना बनाई अगाडी बढ्ने बताए ।

मुख्यमन्त्री यादवले सबभन्दा बढी भ्रष्टाचार नियन्त्रणबारे ठोस कदम चालिने पनि प्रतिबद्धता जनाए । उनले आवश्यकता अनुसार कानून निर्माण गर्ने बताए । उनले काम गर्ने कर्मचारीलाई उचित पुरस्कार र कामचोर कर्मचारीलाई दण्डित गर्ने बताए ।

प्रदेशसभामा सत्ता साझेदार दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका छन् । गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका उनले २९ गते शपथग्रहण गरेका थिए ।

यादवले विश्वासको मतका लागि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई औपचारिक पत्र नै बुझाएर आग्रह गरे । काँग्रेस र नेकपा एस पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिन सकारात्मक देखिए पनि निर्णय भने गरिसकेको छैन ।

काँग्रेस र नेकपा एसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दियो भने मधेश प्रदेशसभामा पनि प्रतिपक्षी रहने छैन । प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्रका ९र९, नेकपा एसका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद छन् । यस्तै चार स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर