देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको तयारी – Nepal Press

देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार देवराजलाई बनाउने आशय व्यक्त गरेको एक पदाधिकारीले बताए ।

यस पटक एमालेले मन्त्री र सभामुखमा नयाँ तथा अवसर नपाएकालाई मौका दिने नीति अनुसार सभामुखमा पार्टीका सिनियर नेता घिमिरेलाई अघि सार्न लागेको बताइएको छ । प्रतिनिधि सभामा भने घिमिरेको यो पहिलो प्रवेश हो ।

झापा २ बाट निर्वाचित एमाले स्थायी कमिटी सदस्य घिमिरे पार्टीमा भने २०४९ को पाँचौँ महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी यसअघि एक पटक एमालेबाट राष्ट्रियसभा सदस्य थिए । हाल उनी एमालेको प्रदेश १ इन्चार्ज छन् ।

पार्टीका पुराना नेता घिमिरेले प्रत्यक्ष चुनाव लडेको यो पहिलो पटक थियो । सभामुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको पनि दाबी रहेकोमा अध्यक्ष ओलीले यस पटक घिमिरेलाई मौका दिन खोजेको बुझिएको ती नेताले बताए ।

गठबन्धनमा सभामुख पनि एमाले र माओवादीबीच आलोपालो गर्ने भनिएको छ । सभामुख निर्वाचन माघ ५ गते हुँदैछ ।

बुधवार सभामुखको निर्वाचन प्रक्रिया शुरु हुने भएकाले एमालेले आजै साँझसम्म औपचारिक निर्णय गर्ने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर