माओवादीबाट घर्ती सभामुख र राप्रपाबाट खाण उपसभामुखका उम्मेदवार, उपसभामुख पाए कांग्रेसले समर्थन गर्ने – Nepal Press

माओवादीबाट घर्ती सभामुख र राप्रपाबाट खाण उपसभामुखका उम्मेदवार, उपसभामुख पाए कांग्रेसले समर्थन गर्ने

रुपन्देही । लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता पक्षबाट उम्मेदवारको टुंगो लागेपनि विपक्षी दलबाट उम्मेदवारको टुंगो लागेको छैन ।

सत्तारुढ दलबाट सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीको भागबन्डामा परेको छ । उनीहरू दुवैले आफ्नो उम्मेदवारहरु तयार गरेका छन् ।

माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाल प्रेसलाई बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाण केसीलाई उम्मेदवार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरूको समर्थन रहेको छ । नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४।४, जसपा, जनमत, लोसपाका ३।३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले अन्तिम समयसम्म पनि दलहरुबीच सहमतिको प्रयास भइरहेको बताए । सहमतिको प्रयास भएको छ, हामीले सभामुख दाबी गरेर प्रस्ताव गरेका छौँ तर उपसभामुख भएपनि हामी सहकार्य गर्न तयार छौँ,’ पुनले नेपाल प्रेससँग भने, ‘सहमति नभए हामीले उम्मेदवारी दिनेगरी अगाडि बढेका छौँ, अहिले नै कसलाई पठाउने भन्नेबारे टुंगो लगाएका छैनौँ ।’

कांग्रेसको यो प्रस्तावका विषयमा सत्तारुढ दलले कुनै निर्णय भने गरेका छैनन् । आज छलफलका लागि उनीहरू बैठक बस्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर