बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल – Nepal Press

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा मन्त्रिपरिषदकाे पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भइरहेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

सातदलीय गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंग्याउन बाँकी छ । हाल ८ सदस्यीय मन्त्रिपरिषद्मा अब १७ जना थप्ने संवैधानिक सुविधा छ ।दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाएका थिए ।

मन्त्रालय भागबन्डालाई लिएर प्रचण्ड-ओलीबीच माेटामाेटी सहमति भइसकेकाे बताइन्छ । दुई नेताकाे निष्कर्षपछि गठबन्धनका शीर्ष नेता बसेर टुंग्याइने एक नेताले बताए ।

आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर