सभामुखमा एमालेबाट पीएस र छविलालको दाबीबीच देवराजको इन्ट्री, नेतृत्व दबाबमा – Nepal Press

सभामुखमा एमालेबाट पीएस र छविलालको दाबीबीच देवराजको इन्ट्री, नेतृत्व दबाबमा

काठमाडौं । नेकपा एमालेले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न सचिवालय बैठक बोलाउने भएको छ । सभामुख निर्वाचनका लागि माघ ५ गतेको मिति तोकिएको छ । संसद सचिवालयले माघ ३ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद विस्तारको भागबन्डा टुंगिएपछि सभामुखको उम्मेदवारबारे छलफल गर्न पार्टीको बैठक बोलाइने एक नेताले बताए । यद्यपि कसलाई सभामुख बनाउने भन्नेबारे अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव नै निर्णायक हुनेछ ।

उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आफू सभामुख नबन्ने जानकारी गराइसकेकाले अरु नाममा छलफल भइरहेको छ । यसपटक सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको सशक्त दाबी देखिएको छ ।

गुरुङले प्रतिनिधिसभामा निर्वाचित पार्टीका पदाधिकारीमध्ये चौथो वरियतामा आफू रहेकाले सभामुख बन्न पाउनुपर्ने बताएका छन् । अध्यक्ष ओली प्रधानमन्त्री र उपाध्यक्ष नेम्वाङ क्रमशः प्रधानमन्त्री र राष्ट्रपतिका दाबेदार भएको तथा अर्का उपाध्यक्ष विष्णु पौडेल सरकारको नेतृत्व गरेर गएकाले सभामुखमा आफू दाबेदार भएको उनको भनाइ छ ।

गुरुङपछि एमालेका पाँचजना सचिव चुनाव जितेर आएका छन् । तीमध्ये सभामुखमा छविलाल विश्वकर्माको दाबी छ । रुपन्देही १ बाट घनश्याम भुसाललाई पराजित गरेका विश्वकर्मालाई सभामुख बनाउन नेम्वाङले नेतृत्वलाई सुझाव दिएको बताइन्छ ।

छविलाल बने भने दलित समुदायतबाट देशको संवैधानिक उच्च पदमा पुग्ने पहिलो व्यक्ति बन्नेछन् । प्रतिनिधिसभामा दलित समुदायबाट प्रत्यक्ष चुनाव जितेर आउने पनि छविलाल एकमात्र सांसद हुन् ।

गुरुङले सभामुखमा बलियो दाबी गरेपछि पार्टी नेतृत्व दबाबमा परेको छ । उनी रवि लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेकाले लामिछानेभन्दा तलको वरियतामा मन्त्री बन्न अनिच्छुक छन् । त्यस्तै एमालेबाट अब पाइने मन्त्रालयमा पदाधिकारीभन्दा तलका सांसद पठाइने देखिएकाले पनि गुरुङले सभामुख दाबी गरेका हुन् ।

सत्ता साझेदारी गर्ने क्रममा एमाले र माओवादीबीच सभामुखमा पनि आलोपालो गर्ने भनिएकाले पृथ्वीसुब्बा हुँदा प्रचण्डले उनलाई पाँचै वर्ष मान्ने सम्भावना भएकाले पनि गुरुङको दाबीले नेतृत्व दबाबमा परेको हो ।

गण्डकीको मुख्यमन्त्री भइसकेका गुरुङसँग एकपटक पर्यटनमन्त्री भइसकेको अनुभव छ । त्यस्तै विश्वकर्मासँग एकपटक कृषिमन्त्री भएको अनुभव छ ।

यी दुई नेताको दाबी सभामुखमा रहेका वेला तेस्रो नाम बालकोटबाटै चुहिएको छ । उनी हुन्, स्थायी कमिटी सदस्य देवराज घिमिरे । झापा २ बाट निर्वाचित घिमिरेको प्रतिनिधिसभामा यो डेब्यु हो । उनी यसअघि एकपटक राष्ट्रियसभा सदस्य भएका थिए ।

पार्टी राजनीतिमा उनी अहिले पदाधिकारी नरहे पनि एमालेको निरन्तरतामा भने गुरुङ र विश्वकर्माभन्दा सिनियर हुन् । घिमिरे २०४९ मा सम्पन्न एमालेको महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । गुरुङ २०५४ को छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा आएका थिए ।

घिमिरेले २०५३ मा महाकाली सन्धि विवादको वेला एमाले केन्द्रीय कमिटीमा मतदान हुँदा अध्यक्ष मनमोहन अधिकारी बिरामी परेर अस्पताल भर्ना भएकाले उनको साटो मतदान गरेका थिए ।

तीनै जना आकांक्षी अध्यक्ष ओलीका सदाबहार सहयोगी भएकाले निर्णय गर्न कठिन भएको अनुमान छ । कतिपयले यसअघि उपसभामुखमा उम्मेदवार बनेकी विद्या भट्टराईको नाम पनि लिएका छन् । तर, उनी पहिलो वा दोस्रो चरणमा मन्त्री बन्ने बढी सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर