मुख्यमन्त्री गिरीले आज शपथग्रहण गर्दै – Nepal Press

मुख्यमन्त्री गिरीले आज शपथग्रहण गर्दै

रुपन्देही । लुम्बिनी प्रदेशमा तेस्रो मुख्यमन्त्री बनेका नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।

प्रदेशका ८७ सांसदमध्ये उनलाई ७ दलका ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री बनाउन दाबी पेशपछि बुधवार प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्त गरेका थिए । आज दिउसो १ बजे प्रदेश राजधानी दाङमा प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराउँदै छन् ।

संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका गिरीलाई एमालेका २९, सत्तारुढ नेकपा माओवादी केन्द्रका १० राप्रपाका ४,नागरिक उन्मुक्तिका ४, जसपा, जनमतका ३ र केन्द्रमा सत्ता गठबन्धन बाहिर रहेको लोसपाका ३ र स्वतन्त्रबाट निर्वाचित २ सांसद गरी ५८ सांसदको समर्थन छ ।

शपथ ग्रहणपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । एमालेबाट २ र माओवादीबाट १ गरी ३ जना मन्त्री बनाउने तयारी गरिएपनि कुन मन्त्रालय कसले लिने अन्तिम टुंगो लागेको छैन ।

एमालेबाट भूमिश्वर ढकाल र चेतनारायण आचार्य पहिलो चरणमा मन्त्री बन्ने तयारीमा छन् भने माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने निश्चित छ ।

लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी भएपनि धेरै दलको सहभागिता भएको र आकांक्षी बढी भएकाले समस्या परेको छ ।

यसअघिको मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउने एमालेले प्रस्ताव गरेको छ ।

प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली कांग्रेसका २७, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ गरी २९ सांसद सरकार बाहिर रहेका छन् ।

एमाले सांसद भूमिश्वर ढकालले बाँकी रहेका सांसदहरुबाट पनि केन्द्रमाजस्तै विश्वासको मत लिने समयसम्म आउन आग्रह गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर