अनेरास्ववियुको महाधिवेशन मिति तोकियो, केही पदाधिकारी असन्तुष्ट – Nepal Press

अनेरास्ववियुको महाधिवेशन मिति तोकियो, केही पदाधिकारी असन्तुष्ट

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ सम्म गर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकले काठमाडौंमा महाधिवेशन गर्ने निर्णयसँगै संगठनमा केही पदाधिकारी र सदस्यले असन्तुष्टि जनाएका छन् ।

अखिल इन्चार्ज माधव ढुंगेल र अध्यक्ष सुनिता बरालले पदाधिकारी बैठकमा महाधिवेशनको मिति प्रस्ताव गरेका थिए । उक्त प्रस्तावअनुसार निर्णय फागुन पहिलो साता निर्णय भएकोमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू मोती विक वाङ्फु योञ्जन, उमेश आचार्यलगायतका पदाधिकारीले स्ववियु चुनावपछि अधिवेशन गर्नुपर्ने भन्दै असहमति जनाएका थिए । उनीहरूले फेसबुकमा पनि असन्तुष्टि पोखेका छन् ।

धुलिखेलमा दुई दिनअघि आयोजना गरिएको जनसंगठन सुदृढीकरण कार्यशालाकै क्रममा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, जनवर्गीय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितको हाइकमाण्डले स्ववियु चुनावअघि नै अधिवेशन गर्न दिएको निर्देशनबमोजिम मिति तोकिएको इन्चार्ज माधव ढुंगेलले नेपाल प्रेसलाई बताए ।

चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न लागेकाले नयाँ नेतृत्व उत्साहसहित अखिललाई पहिलो बनाउने गरी विगतमाजस्तै मिसनमा लाग्ने उनले बताए ।

‘उहाँहरूको भनाइ पनि अस्वाभाविक भने होइन । तर, वर्षौंपछि हुन लागेको स्ववियु निर्वाचनमा संगठन नयाँ शिराबाट जान जरुरी छ’, ढुंगेलको भनाइ छ ।

अखिलको भावी अध्यक्षमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य दाबेदार देखिएका छन् । आरसी आयोजक कमिटी बनाएर अध्यक्ष हुन चाहन्थे । तर, सुनिताले महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण गर्ने अडान राखेकी छन् ।

‘संगठनको स्वास्थता -हाम्रो प्रतिबद्धता । स्ववियु निर्वाचन हाम्रो- प्राथमिकता, अधिवेशन आयोजक कमिटी गठन- चैत मसान्तभित्र- अखिल अधिवेशन’, मिति घोषणापछि आरसीले फेसबुकमा लेखेका छन् ।

लोकतान्त्रिक विधिबाट नेतृत्व परिवर्तन हुने ढुंगेलले बताए ।

एमालेको जनसंगठन संयन्त्रले यसअघि नै सबै जनसंगठनहरूलाई चैत मसान्तभित्र महाधिवेशन गरिसक्न निर्देशन दिइसकेको छ । सो समयभित्र महाधिवेशन नगरे विघटन गर्ने निर्णय गरिएको छ ।

२०७३ सालमा अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्ष निर्वाचित भएयता अखिलको महाधिवेशन भएको छैन । यसबीचमा नेकपा एकतापछि दुवै अखिलको समायोजनमा ऐन महर अध्यक्ष भएका थिए ।

महरलाई बिदा गरेर सुनिता बराललाई पार्टी नेतृत्वले अध्यक्ष बनाएको थियो । ६ वर्षपछि हुने अखिलको महाधिवेशनले नेतृत्वमा भएको जामलाई अन्त्य गर्ने विद्यार्थी नेताहरूले बताएका छन् ।

अहिले अखिलमा ५ सयभन्दा बढीको जम्बो टीम छ । अधिवेशनले यो संख्या छाँसिएर १९९ मा झर्छ ।

अनेरास्ववियु केन्द्रीय कमिटीमा अहिले भएका अधिकांश पदाधिकारी र सदस्यहरू हाल अध्ययनरत विद्यार्थी नभएको र स्ववियु चुनाव लड्न अयोग्य भएकोले चुनावको बहानामा अधिवेशन सार्न नहुने भन्दै अखिलका विद्यार्थीले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई दबाबसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर