राजेन्द्रसिंह रावल : सुदूरपश्चिम बुझेका प्राज्ञिक मुख्यमन्त्री – Nepal Press

राजेन्द्रसिंह रावल : सुदूरपश्चिम बुझेका प्राज्ञिक मुख्यमन्त्री

कैलाली । ‘रावलको चिन्ता कति गर्नुहुन्छ, अरूलाई पालो दिनुपर्दैन ? यहाँ अरू थुप्रै रावल हुनुहुन्छ, अब थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’, कार्तिक १८ गते कञ्चनपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली यसरी नै चुनावी सभामा गर्जिएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दार्चुलाबाट राष्ट्रिय अभियान सुरु गरेकै दिन कञ्चनपुरको चुनावीसभामा ओलीले भनेका थिए, ‘अब थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ ।’

त्यो वेला कसैले पनि ओलीले भनेको कुरालाई बुझेनन् । उनका आलोचकले भीम रावलप्रतिको कुन्ठा भन्दै विरोध गरे । तर, त्यसको ठीक ६९ दिनपछि सुदूरपश्चिममा कञ्चनपुरका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

एमाले पोलिटव्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज रावललाई केपी ओलीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनाउने गरी नै समानुपातिक प्रणालीमार्फत सांसद बन्न आग्रह गरेका थिए । रावलले पनि पार्टी अध्यक्षको त्यो आग्रह काट्न सकेनन् र प्रदेशसभा सदस्य हुँदै मुख्यमन्त्रीमा नियुक्त भए ।

को हुन् रावल ?

बैतडीको दशरथ चन्द नगरपालिका- ५ मारकण्ड गाउँमा २०२१ जेठ १६ गते रावल जन्मिएका हुन् । नेपाली, अङ्ग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत थुप्रै भाषा बोल्न र लेख्न सक्ने रावलले आधारभूत तहको अध्ययन भारत मेघालयको सिलङ, मध्य प्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढका केन्द्रीय विद्यालयहरूमा गरे ।

उनले एसएलसी वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक बैतडी, प्रमाणपत्र तह ड्रमाण्ड इन्टर कलेज पिलिभित उत्तर प्रदेश भारत, स्नातक तह सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर कञ्चनपुरमा अध्ययन गरेका हुन् ।

राजनीतिक यात्रा

२०३६ सालको जनमत सङ्ग्रहको आन्दोलनमा सहभागी भएर राजनीतिमा होमिएका रावल २०३९ सालमा अनेरास्ववियुमा आबद्ध भए । २०४२ सालमा बैतडीमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आन्दोलनको नेतृत्व गर्दा पक्राउ परेका उनी २०४५ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बने ।

२०४६ सालमा प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा मालेको प्रथम जिल्ला सङ्गठन कमिटी सदस्य बनेका उनी २०४७ सालमा अनेरास्ववियु तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए ।

२०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको प्रतिनिधि भएका रावल २०४८ सालमै अनेरास्ववियु पाँचौं राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इन्चार्ज भए । त्यस्तै २०४८ मै गड्डाचौकीमा भएको हतियारबद्ध भारतीय प्रहरीद्वारा सेरुवा दमाईको घरमा प्रवेश गरी खोजतलासविरुद्धको आन्दोलनको उनले नेतृत्व गरेका थिए ।

२०४९ सालमा महाकाली सन्धिविरुद्धको आन्दोलनमा जेल परेका उनलाई सार्वजनिक अपराध ऐनअन्तर्गत सरकारले कीर्ते मुद्दा दर्ता गरेको थियो ।

२०५० सालमा उक्त सन्धिविरुद्धको आन्दोलनमा नेतृत्व गर्दा रावलले तत्कालीन सत्ता पक्षबाट गिरफ्तारसहित सार्वजनिक मुद्दा खेपे । त्यो वेला सरकारले दुई वटा मुद्दा लगाएको थियो ।

२०५१ मा नेकपा एमाले को जिल्ला सङ्गठन विभाग प्रमुख र गाउँ जागरण अभियानको उत्प्रेरक भई महाकाली अञ्चलका चारै जिल्लामा रावलले अभियान सञ्चालन गरेका थिए । २०५४ देखि २०५९ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति बनेका रावल २०५४ सालमा नेकपा एमाले कञ्चनपुरको पार्टी उपसचिव भएका थिए ।

उनी २०५७ देखि २०६२ सालसम्म नेकपा एमाले जिल्ला सचिव (दुई कार्यकाल) बने । २०५८ सालमा जिल्ला आवधिक योजना सह-संयोजक भएका रावल २०५८ सालमा सामुदायिक वन उपभोक्ता समूह कञ्चनपुरको संस्थापक बने ।

२०६२/६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निभाएका उनी राजकाज मुद्दा र पक्राउमा परेका थिए । २०६२ सालमा नेकपा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव बनेका रावल २०७५ जेठ ३ देखि २०७७ चैत ३१ गतेसम्म नेकपा केन्द्रीय कमिटी सदस्य भए ।

२०७८ सालमा एमाले केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इन्चार्ज बनेका रावल हाल पोलिटव्युरो सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज छन् ।

२०७९ मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसद निर्वाचित भएका उनी सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको नेता हुँदै बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

सहभागिता

  • विश्व समाजवादी सम्मेलन (डब्लुएसएफ) सन् २००१ मुम्बई भारतमा सहभागी
  • एसिया समाजवादी सम्मेलन (एएसएफ), हैदरावाद, भारतमा ब्राजिलमा मार्क्सवादी अध्ययनबारे एक महिने तालिम लिएको र जबजबारे प्रस्तुति दिएको ।
  • बीआरआई अध्ययन उच्चस्तरीय समितिमा बसेर चीनको सिचुवानमा भएको बैठकमा सहभागी ।
  • महाकाली नदीका सवालबारे अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी (ट्र्याक टु मिटिङ),
  • महाकाली नदीका सवालबारे दुई देशीय बैठकमा नेपालको प्रतिनिधिको रुपमा सहभागी

रावलले सुदूरपश्चिम प्रदेश स्थापना तथा निर्माणमा राजनीतिक भूमिकासमेत निभाएका छन् । सुदूरपश्चिम विश्वविद्यालय पुनःस्थापना आन्दोलनमा नेतृत्व गरेका रावल विश्वविद्यालयका संस्थापक सदस्य हुन् ।

उनी महाकाली अञ्चल अस्पताल सञ्चालक समितिको अध्यक्षसमेत बनेका थिए । सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्यापीठको सञ्चालक समिति सदस्य भएका रावल नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, महाकाली साहित्य समाजको वरिष्ठ उपाध्यक्ष हुन् ।

पुस्तक लेखन तथा प्रकाशन

  • मध्यकालीन डोटीको इतिहास (साके १२३५-१७१२)
  • द इकोज पावर अफ प्यासन कविता सङ्ग्रह ।
  • चुरे संरक्षण आवाज बुलेटिनमा सम्पादक ।
  • जिविस वन वातावरण तथा पर्यटन शाखाको बुलेटिन प्रतिपादक
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर