स्ववियु चुनावअघि नै अनेरास्ववियुले नयाँ नेतृत्व पाउने, बुटवलमा महाधिवेशन गर्ने तयारी – Nepal Press

स्ववियु चुनावअघि नै अनेरास्ववियुले नयाँ नेतृत्व पाउने, बुटवलमा महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन माघ मसान्तमा हुने भएको छ । एमालेले चैत मसान्तभित्र जनसंगठनहरूको महाधिवेशन गर्न भनेको छ ।

चैत ५ गते त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न लागेकाले अनेरास्ववियुको महाधिवेशन माघ मसान्तभित्र हुने महासचिव समिक बडालले बताए ।

अखिल महाधिवेशनको मिति र स्थान बुधबार बस्ने सचिवालय बैठकले तय गर्ने बडालले जानकारी दिए । स्रोतका अनुसार अखिलको महाधिवेशन बुटवलमा गर्ने तयारी छ ।

२०७३ सालमा अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्ष निर्वाचित भएयता अखिलको महाधिवेशन भएको छैन । यसबीचमा नेकपा एकतापछि दुवै अखिलको समायोजनमा ऐन महर अध्यक्ष भएका थिए ।

महरलाई बिदा गरेर सुनिता बराललाई पार्टी नेतृत्वले अध्यक्ष बनाएको थियो । ६ वर्षपछि हुने अखिलको महाधिवेशनले नेतृत्वमा भएको जामलाई अन्त्य गर्ने विद्यार्थी नेताहरूले बताएका छन् ।

अखिल महाधिवेशनबाट नयाँ नेतृत्व र उत्साहसहित स्ववियु चुनावमा जाने वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले बताएका छन् । विगतमा जस्तै यसपटक पनि स्ववियु चुनावमा अखिल पहिलो पार्टी बनाउनेगरी चुनावको तयारी भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर