अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी छः प्रधानमन्त्री प्रचण्ड – Nepal Press

अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिएका छन्।

ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकिकृत कारोवारको शुभारम्भको अवसरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताए।

उनले भने, ‘यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं।’

उनले अहिले मर्जर लगायतका क्रियाकलाप पश्चात ठूला परियोजनामा श्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तिय क्षेत्रमा कहिलेकाहिँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने अपेक्षा गरे। नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस भन्ने कुराको हेक्का राख्न आवश्यक रहेको बताए।

बैंक विप्रेषणको कारोवारलाई भरपर्दो र सुरक्षित गर्न समेत बैंक क्षेत्रको ठूलो भूमिका रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले ठूला परियोजनामा मात्र नभएर नवीनतम बैंकिंग तथा वित्तिय प्रोडक्ट प्रयोग गरेर आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तिय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए।

वित्तीय, मौद्रिक, पुँजीवजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूवीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *