नदी तथा खानीजन्य सामग्रीको उत्खननमा दोखिएका समस्या समाधान गर्न निर्माण व्यवसायी महासंघको माग – Nepal Press

नदी तथा खानीजन्य सामग्रीको उत्खननमा दोखिएका समस्या समाधान गर्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्री उत्खनन, ओसारपसारलगायतमा पछिल्लो समयमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विगतमा पनि पटक-पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण उद्योग आक्रान्त रहेको महासंघको भनाइ छ ।

महासंघका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित समूह विशेषले मात्र यस्ता खानीहरू सञ्चालन गर्दै आइरहेकाले यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन नसकेको उल्लेख छ ।

हाल यी उद्योगहरूबाट उत्पादित निर्माण सामग्रीहरूको कृत्रिम अभाव र कालोबजारी भई निर्माण व्यवसायी तथा आम उपभोक्ताहरूले उच्च मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको विज्ञप्तिमा जनाइएको छ । नदी तथा खानीजन्य सामग्रीहरूको उत्पादन, उत्खनन् र संकलन रोयल्टीको निर्धारण विभिन्न स्थानीय निकायहरूले विनामापदण्ड अनुचित रुपले फरक फरक निर्धारण गर्ने गरेको भन्दै महासंघले यस्तो रोयल्टी मूल्यको मापदण्ड संघीय सरकारद्वारा नै निर्धारण गरिनुपर्ने माग गरेको छ ।

निर्माण सामग्रीहरूको ‘क्यारी जोन’ राज्यबाटै तोक्न र उचित मूल्य निर्धारण गर्न महासंघले माग गरेको छ । इन्धनसहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण परियोजनाहरू अगाडि बढाउन समस्या भइरहेको वर्तमान अवस्थामा गृह मन्त्रालयबाट जारी निर्देशनले निर्माण उद्योगलगायत आम उपभोक्तामा गम्भीर असर परेको महासंघको भनाइ छ ।

‘यसबाहेक नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको हालको समस्याले त्यस्ता सामग्रीहरूको अभाव सिर्जना भई कार्टेलिङले प्रश्रय पाउने र विगतमा जस्तै चरम मूल्यवृद्धि हुने र केही समय अघिदेखि चर्को मूल्यवृद्धिको मारमा परेका निर्माण व्यवसायीहरू थप मारमा पर्ने निश्चित छ’, विज्ञप्तिमा भनिएको छ ।

गिट्टी, बालुवा, माटो, ढुंगालगायतका निर्माण सामग्री उत्खननमा समस्या देखिए चालू निर्माण परियोजनाहरूको लागत र समय बढ्ने देखिएको महासंघले जनाएको छ । परियोजनास्थल र सोसँग सम्बद्ध क्षेत्रमा रहेको नदी तथा खानीजन्य निर्माण सामग्रीको परियोजनाले उपभोग गर्न प्रयोग गरिएका उपकरणहरूसमेत सञ्चालन गर्न प्रतिबन्ध लगाइएकोप्रति पनि महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्माण उद्योग प्रतिकूल रहेका सबैखाले समस्या तत्काल अन्त्य गरी निर्वाध रुपमा निर्माण व्यवसाय सञ्चालन गर्ने आवश्यक वातावरण बनाउन महासंघले सरकार लगायतका सम्बन्धित सबै निकायसमक्ष माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *