सत्ता गठबन्धनको बैठक सुरु, आजै भागवण्डा मिलाउने तयारी – Nepal Press

सत्ता गठबन्धनको बैठक सुरु, आजै भागवण्डा मिलाउने तयारी

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सहभागी छन् ।

आज सबै प्रदेशको भागवण्डा मिलाउने गरी नेताहरू छलफलमा जुटेका छन् । प्रदेश १ मा एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन् । आजको बैठकले अन्य ६ प्रदेशको भागबण्डा टुंग्याउने तयारी छ ।

यस्तै, सरकारले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ ।

हिजो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले शीर्ष तहमा बुझाएको थियो । त्यसपछि नेताहरू छलफलमा जुटेका थिए ।

प्रदेश १ र गण्डकी एमालेले पाउने निश्चित हुँदा कर्णाली र सुदूरपश्चिममा माओवादीको दाबी छ । यद्यपी, सुदूरपश्चिममा नागरिक उन्मुक्तिले पनि आफ्नो दाबी गरिरहेको छ ।

मधेस प्रदेशमा जनमत पार्टी र जनता समाजवादी पार्टीले दाबी गरेका छन् । यहाँ दुवै दललाई आधा-आधा कार्यदल सरकारको नेतृत्व दिने गरी सहमति जुटाउने प्रयास भइरहेको छ ।

एमालेले थप दुई प्रदेश पाउने लगभग निश्चित छ । ती दुई प्रदेश लुम्बिनी र वागमती हुन सक्छन् । यद्यपी वागमती नपाए कर्णालीमा एमालेको दाबी रहने नेताहरू बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर