टी-२० फिक्सिङबारे सीआईबीले भन्यो- प्रमाण जुट्दैछ, निष्कर्ष केही दिनमै – Nepal Press

टी-२० फिक्सिङबारे सीआईबीले भन्यो- प्रमाण जुट्दैछ, निष्कर्ष केही दिनमै

काठमाडौं । नेपाल टी-२० मा म्याच फिक्सिङ भएकोबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन द स्पट फिक्सिङ भएको अनुमान गरेको छ ।

प्रहरी उपरीक्षक (एसपी) को टोलीले छानबिन गरिरहेको उक्त घटनामा खेल मैदानमै फिक्सिङ भएको र आफूहरुले त्यसैअनुरुप प्रमाण जुटाइरहेको सीआईबी प्रमुख उत्तम सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

‘अन द स्पट फिक्सिङ भएको भन्ने अनुमान छ, त्यसैअनुसार हामी प्रमाणसहित अन्तिम निष्कर्ष निकाल्छौं’, सुवेदीले भने, ‘अहिले अनुसन्धान जारी छ ।’

त्यस्तै, उनले खेल सकिएको केही दिनभित्रै अनुसन्धानको निष्कर्ष आइसक्ने पनि बताए । त्यही प्रारम्भिक निष्कर्षअनुसार अन्तिम निष्कर्षका लागि प्रमाण जुटाउँदै गरेको उनको भनाइ छ ।

पुस १९ गते नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए ।

यसअघि प्रतियोगितामा कमेन्ट्री गरेका सचिन तिमल्सिनाले पनि फेसबुक लाइभमा आउँदै नेपाली खेलाडीमाथि आशंका गरेका थिए । उनले आफूले हरेक बललाई नजिकबाट नियालेको भन्दै एक नेपाली अलराउन्डरको गतिविधिमाथि प्रश्नसमेत उठाए उठाएका थिए ।

गत महिना त्रिवि क्रिकेट मैदानमै भएको नेपाल र यूएईबीचको खेलमा बेटिङ गरिरहेको आशंकामा ३१ जना भारतीय पक्राउ परेपछि सीआईबीले सम्भावित गतिविधिलाई ध्यानमा राखेर नेपाल टी-२० लाई पनि निगरानीमा राखेको थियो । त्यतिबेला पनि सीआईबीकै टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर