बाबुराम भट्टराईको प्रस्ताव- नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गरौं – Nepal Press

बाबुराम भट्टराईको प्रस्ताव- नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गरौं

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् ।

जारी राजनीतिक समितिको बैठकमा प्रतिवेशन पेश गर्दै विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष भट्टराईको प्रतिवेदनमा भनिएको छ, ‘देश अहिले पनि गम्भीर संकटबाट गुज्रिरहेको छ । इतिहासदेखि थेग्रिएर बसेका राजनीतिक, भू-राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय समस्याहरु झन् झन् गम्भीर बन्दै गइरहेका छन्। राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान जारी भएर दुईवटा आम निर्वाचन सम्पन्न भइसक्दा पनि स्थीर सरकार बन्न सकिरहेको छैन र समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको जनताको चाहना पूरा हुन सकेको छैन ।’

भू-राजनीतिक हिसाबले उदाउँदा विश्व शक्ति चीन र भारत तथा पुराना महाशक्तिहरूको यस हिमाली क्षेत्रमा आगामी दशकमा झन् गम्भीर ढंगले मडारिने सामरिक द्वन्द्वको सफलतापूर्वक व्यवस्थापन गर्ने हाम्रो क्षमतामाथि गम्भीर प्रश्न उठाइरहेको उल्लेख गरेका छन्।

‘आर्थिक रूपमा देश अझै अतिकम विकसित मुलुकको स्तरबाट माथि उठ्न सकिरहेको छैन र गरीबी, बेरोजगारी, परनिर्भरता, असमानताको दुष्चक्रमा फसिरहेछ’ उनले भनेका छन्।

समावेशी लोकतन्त्र अनुकूल आम मनोविज्ञानको निर्माण गर्न त्यही अनुरुपको वैचारिक पैरवी र पार्टी जीवन हुनुपर्ने उल्लेख गरेका छन्।

‘नैतिक आचरणयुक्त सदाचारी जीवनपद्धति, सहिष्णुता र सभ्य लोकतन्त्र, पारदर्शिता र गतिशीलतालाई जोड दिनु पर्दछ । अनावश्यक तडकभडक, गुटबन्दी, सङ्कीर्णता, सत्ता र शक्तिप्रतिको अतिमोहजस्ता रोगबाट पार्टी, आन्दोलन र जनसमुदायलाई जोगाउनु पर्दछ’ उनले भनेका छन्, ‘नयाँ समुन्नत समाजवादका यी मूलभूत मान्यताहरुको वरिपरि रहेर हामीले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्दछ । त्यस निम्ति विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर