मधेश सरकार गठनको आह्वान भइसक्दा पनि जसपा र लोसपाले दलका नेता चयन गर्न सकेनन् – Nepal Press

मधेश सरकार गठनको आह्वान भइसक्दा पनि जसपा र लोसपाले दलका नेता चयन गर्न सकेनन्

जनकपुरधाम । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरिसक्दा पनि दुई मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०मा दलका नेता चयन गर्न सकेको छैन ।

प्रदेश प्रमुख मिश्रले शुक्रबार नै ६ दिनको समय दिँदै सरकार गठनका लागि आह्वान गरेका हुन् । तर सरकार नेतृत्वको दावी गरिरहेका जसपाले समेत संसदीय दलका नेता चयन गर्न सकेका छैनन् ।

जसपा मधेश प्रदेश संसदीय दलको बैठक शुक्रवार पनि बसेको थियो । बैठकमा दलका नेताका लागि सुरुमा ८ सांसदले दावी पेश गरे । एक सांसदका अनुसार छलफलका क्रममा अन्य आकांक्षीहरु ब्याक भए । तर मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र साँसद रामअशिष यादव आफू नै दलको नेता हुनुपर्ने अडान कायम राखेपछि सहमती जुट्न सकेन ।

ति साँसदले भने, ‘निवर्तमान सभामुख यादवले साँसद रामअशिषलाई दलका नेता मान्न तयार भएपनि मुख्यमन्त्री राउत मान्नुभएन । खिचातानी बढेपछि निर्वाचन गर्ने कुरा पनि आयो । तर सर्वसम्मतले नै चयन गर्नुपर्नेमा अधिकांश साँसदले जोड दिए । त्यसपछि यो जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई नै दिने निर्णय भयो ।’

जसपाले यो प्रदेशमा मुख्यमन्त्री पाउने सम्भावना रहेकाले पनि साँसदहरु दलका नेता जसरी पनि बन्न खोजेका छन् । बैठकबाट दलका नेता चयन गर्न मुख्यमन्त्री राउत, निवर्तमान सभामुख यादव, रामअशिष यादव, सरोज सिंह कुशवाहा, संजय यादव, अब्दुल कलाम, बच्चा राउत अहिर, शोभा साह र मनिष सुमनको नाम पठाइएको छ ।

यो प्रदेशमा जसपाको १६ साँसद छन् । एक साँसदले भने, ‘अध्यक्ष ज्यूले नाम पठाएको ८ जनामध्ये जसलाई चयन गर्नुहुन्छ हामी सबै मान्छौं । यसमा सबै माननीय सहमत हुनुभएको छ ।’

यता लोसपामा पनि दलका नेता चयनमा रस्साकस्सी चलेको छ । दलका नेता बन्ने दौडमा जितेन्द्र सोनल, उपेन्द्र महतो र अभिराम शर्मा छन् । उनीहरु एक अर्कालाई नस्वीकार्ने अवस्था देखिएको छैन ।

प्रदेशसभामा लोसपाका ९ साँसद छन् । यसअघि राजपा हुँदा दलका नेता सोनल थिए । उनी अहिले पार्टीका मधेश प्रदेश अध्यक्ष पनि हुन् । उनी अध्यक्ष महन्थ ठाकुर निकट मानिन्छन् ।

सोनललाई यो पटक महतो र शर्मा दलका नेतामै टक्कर दिएका छन् । महतो र शर्मा जसरी पनि दलका नेता बन्न चाहन्छन् । महतो पार्टीका बरिष्ट नेता राजेन्द्र महतोका भतिजा हुन् । शर्मा भने अध्यक्ष ठाकुर निकट नै छन् ।

दलका नेतामा सहमती नजुटेपछि पार्टी अध्यक्ष ठाकुरलाई नै चयन गर्ने जिम्मेवारी दिइएको छ । सहमतीको प्रयास विफल भएपछि अध्यक्ष ज्यूलाई नै दलका नेता चयनको जिम्मेवारी सुम्पिएको लोसपाका एक साँसदले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर