नेपाली क्रिकेटरमा खेलको भोक देखेको छु: थारंगा – Nepal Press

नेपाली क्रिकेटरमा खेलको भोक देखेको छु: थारंगा

काठमाडौं । नेपाल टी-२० लिग खेलिरहेका हाई प्रोफाइल विदेशी खेलाडी हुन् उपुल थारंगा । पोखरा एभेन्जरर्सबाट खेलिरहेका उनी श्रीलंकाका पूर्वराष्ट्रिय क्रिकेटर हुन् । तर, थारंगा त्रिवि मैदानमा अपेक्षाकृत चम्किन भने सकिरहेका छैनन् ।

पोखरा एभेन्जर्सले आठ खेल खेल्दा थारंगाको ब्याटबाट कुल १९९ रन निस्किएको छ । उनले काठमाडौं नाइट्ससँगको खेलमा सर्वाधिक ५८ रन जोडेका छन् । पोखरा एभेन्जरर्स लगातार ५ खेल हारेर प्रतियोगिताबाट आउट हुने संघारमा थियो । पछि लगातार तीन खेल जितेर पुनरागमनको प्रयास गर्दैछ ।

थारंगा यसअघि पनि एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल आएका थिए । उक्त प्रतियोगिता भैरहवा ग्लाडियटर्सबाट खेलेका थिए । त्यसवेला थारंगाको प्रदर्शन अब्बल थियो ।

दोस्रो पटक नेपाल भ्रमणमा रहेका उनी यहाँ आएर खेल्न पाउनुमा धेरै खुशी भएको बताउँछन् । ‘नेपालमा फेरि आउन पाउँदा खुशी लागेको छ । पहिला एभरेस्ट प्रिमियर लिग(ईपीएल) खेल्न आएको थिएँ । यो मेरो दोस्रो पटक हो । यहाँ धेरै प्रतिभावान खेलाडीहरु छन् । जुन नेपाली क्रिकेटका लागि धेरै राम्रो पक्ष हो’, थारंगाले भन्छन् ।

उनले सन् २००५ देखि २०१९ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट करियरमा श्रीलंकाबाट ३१ टेस्ट, २३५ एकदिवसीय अन्तर्राष्ट्रिय र २६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । टेस्टमा ३१ खेल खेल्दै एक हजार ७५४ रन बनाएका छन् । २३५एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा छ हजार ९५१ रन थारंगाको नाममा छ । २६ टी-२० अन्तर्राष्ट्रिय खेलमा उनले ४०७ रन बनाएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा बटुलेको अनुभव थारंगाले नेपालमा आएर यहाँका युवा खेलाडीसमक्ष बाँड्नुले ठूलो महत्व राख्छ । एक अनुभवी क्रिकेटर नेपालमा आएर खेल्नु यहाँका युवा खेलाडीहरुले उनीबाट केही सिक्ने अवसर पनि हो ।

‘यहाँ थ्री डे क्रिकेट हुँदैन भन्ने सुनेको छु । थ्री डे क्रिकेटहरु आयोजना गर्न सक्यो भने असाध्यै राम्रो हुन्छ ।’

नेपालमा धेरै प्रतिभावान खेलाडीहरुका कारण पछिल्लो चार-पाँच वर्षमा नेपाली क्रिकेटले धेरै प्रगति गरेको थारंगा बताउँछन् । उनको विश्लेषण छ, ‘नेपाली क्रिकेटको विकासका लागि घरेलु संरचना राम्रो हुनुपर्छ । घरेलु संरचना राम्रो भयो भने नेपाली क्रिकेटको भविष्य राम्रो छ । यहाँका खेलाडी प्रतिभावान छन् । लिगहरु भइराख्यो भने खेलाडीले खेल्ने वातावरण पाइराख्छन् । यहाँ थ्री डे क्रिकेट हुँदैन भन्ने सुनेको छु । थ्री डे क्रिकेटहरु आयोजना गर्न सक्यो भने असाध्यै राम्रो हुन्छ ।’

विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेका थारंगालाई नेपाल विशेष मन पर्छ । त्यसको कारण हो, यहाँका हिमालहरु । उनको भनाइ छ, ‘मैले विश्वभरि धेरै फ्रेन्चाइज लिगहरु खेलेको छु । तीमध्ये मलाई मनपर्ने देश नेपाल हो । हिमाल भएको देश भएरै होला मलाई नेपाल धेरै मन परेको । पछिल्लो समय नेपाल आउँदा म सगरमाथा आधार शिविरसम्म पुगेको थिएँ ।’

नेपाली क्रिकेटमा अघिल्लो वर्ष र अहिले खासै फरक पाएका छैनन् उनले । यहाँका खेलाडीहरुमा क्रिकेट खेल्ने भोक पहिलाको जस्तै देखिरहेका छन् उनी । धेरै खेल्ने मौका पाए नेपाली क्रिकेटको विकासमा मद्दत पुग्ने र खेलाडीहरुले पनि आफ्नो सपना पूरा गर्ने अवसर पाउने थारंगा बताउँछन् ।

‘मैले अघिल्लो वर्ष र अहिले नेपाल आउँदा के देखे भने यहाँको खेलाडीमा खेल्ने भोक छ । त्यो भोक मेटाउन धेरै खेल्ने मौका पाए राम्रो हुन्छ । उनीहरु आफ्नो सपना पूरा गर्न चाहन्छन् । त्यसैले राम्रो खेलेर अझ उपल्लो स्तरमा पुग्ने चाहना नेपाली खेलाडीको छ’, उनी सुनाउँछन् ।

अघिल्लो पटक नेपाल आउँदा सगरमाथातिर गएका थारंगा यसपटक पोखरा र अन्नपूर्ण हिमाल क्षेत्र घुम्न जाने योजनामा छन् ।

लगातार हारपछि जीतको बाटो पाएको पोखराले प्लेअफ पुग्ने सम्भावनालाई बचाइराखेको छ । थारंगा भन्छन्, ‘सबै कुरामा टीम ब्यालेन्स भए पनि लय पक्रन नसक्दा अघिल्ला खेलहरुमा पराजय व्यहोर्नुपर्‍यो ।’

लगातारको हारपछि पोखराले शरद भेषावकरलाई पछिल्ला तीन खेलमा बेन्चमा राख्दै कप्तानको जिम्मेवारी पनि अनुभवी थारंगालाई सुम्पेको छ । बाँकी खेलमा राम्रो गर्न सके पोखराबाट ट्रफी जित्ने थारंगाको चाहना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *