यस्ता छन् सरकारका निर्णयहरु (भिडिओ) – Nepal Press

यस्ता छन् सरकारका निर्णयहरु (भिडिओ)

कम्बोडियामा आगलागीबाट मृत्यु भएका पाण्डेको शव सरकारी खर्चमा ल्याइने

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका पौडेलले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाए । सरकारले पूर्णता पाएसँगै राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार केन्द्रित हुने उनको भनाइ छ । पुस २६ गते सरकारले संसदबाट विश्वासको मत लिने कार्यक्रम छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

भिडिओ:

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदका लागि आगामी माघ २५ गते वुधबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बैठकले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा बाजुरामा मृत्यु भएका सञ्जीव ऐडी र चेतनदेव ऐडीका परिवारलाई आर्थिक सहायतास्वरुप जनही रु १० लाख प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै, बैठकले कम्बोडियामा एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका-१ का निराकार पाण्डेको शव नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । उनको शव नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर