‘पाँडे’ लाई प्रश्न- सय भाग पुगिसकेको ‘सक्किगो नि’ एक्कासि किन रोकियो ? – Nepal Press

‘पाँडे’ लाई प्रश्न- सय भाग पुगिसकेको ‘सक्किगो नि’ एक्कासि किन रोकियो ?

काठमाडौं । हास्य टेलिशृंखला ‘सक्किगो नि’ को प्रसारण रोकिएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रमको १००औं भाग प्रसारण भइसकेको थियो ।

२०७७ मंसिर १७ गतेदेखिको सम्झौता २०८० मंसिर १७ सम्मलाई कायमै रहेपनि टेलिभिजनले प्रसारण नगर्ने भएपछि कार्यक्रम रोक्नुपरेको जेपीटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले जानकारी दिएका छन् । यसै सन्दर्भमा नेपाल प्रेसकर्मी तपस्या रानाले उनीसँग गरेको संक्षिप्त कुराकानी ।

– ‘सक्किगो नि’ को प्रसारण किन रोकियो नि एक्कासि ?

आएका समाचारहरू एकदमै सही हुन् । हाम्रो कार्यक्रमको १००औँ भाग सकिएपछि हिमालय टेलिभिजनले अब कार्यक्रम प्रसारण गर्न असमर्थ रहेको बतायो । बजारमा पैसा उठेन र आउनुपर्ने करौँडो पैसा अड्कियो भन्ने उहाँहरूको भनाई छ । पहिलाजस्तो अवस्था छैन त्यसैले निरन्तर जान गाह्रो हुने जस्तो कुरा आएपछि अहिले हाम्रो कार्यक्रमकको प्रसारण रोकिएको छ । प्रसारण गर्ने कम्पनीबाट नै सक्दैनौं भनेपछि हामीले पनि के नै गर्न सक्छौं र ?

– अब के गर्नुहुन्छ ?

अहिले प्रसारण रोकिएकोले केही सोच्न नै पाएको छैन । कसैसँग के गर्ने, कसो गर्ने भनेर केही कुरा पनि भएको छैन । अलिक दिन हेरौँ । हाम्रो सोच त हिमालय टेलिभिजनबाट नै निरन्तर प्रसारण होस् भन्ने हो । कस्ता-कस्ता अप्ठ्यारो परिस्थितिमा यहीँबाट काम गरेका थियौं । गरिरहेको ठाउँ छोड्नु राम्रो पनि होइन । एक ठाउँबाट अक्रो ठाउँमा सर्दाखेरि हेर्ने दर्शकहरू पनि बाँडिन सक्नुहुन्छ । कुरा मिल्यो भने हिमालय टेलिभिजनबाट नै फेरि प्रसारण गर्छौं नत्र अरु विकल्प सोच्नुपर्छ । कता हुन्छ त्यतैबाट तालमेल मिलाएर प्रसारण गर्नेछौँ ।

– प्रसारण रोकिनेबारे तपाईँहरूलाई जानकारी चाहिँ कहिले आयो ?

हामीलाई अस्ति हिमालय टेलिभिजनमा श्याम कँडेल सरले सल्लाह गर्न भनेर बोलाउनुभएको थियो । त्यहीँ सल्लाहमा उहाँले हामी अब सक्दैनौ जस्तो कुरा गर्नुभयो । त्यसपछि हामी निस्कियौं । उहाँहरूले त्यतिखेर हामीलाई आधिकारिक पत्र माग्नुभयो । उहाँहरुले प्रसारण गर्न सक्दैनौं भन्नुभएको कारणले गर्दा र हाम्रो बाँकी पैसाको कुरा पनि भएकाले गर्दा हामीले कार्यक्रम रोकिएको सन्दर्भमा पत्र पठाएका छौं । भन्दै आधिकारिक पत्र पनि पठाएका छौं ।

– सम्झौता समयावधि अघि नै छोड्नुपर्‍यो नि ? कतिको जायज लाग्यो यो कुरा ?

सम्झौताकै कुरा गर्ने हो भने अझै थुप्रो समय बाँकी छ। समयावधि अगावै प्रसारण रोक्नु जायज होइन र त्यस्तो गर्नु पनि हुँदैन थियो । तर, सक्दैनौ भनेपछि के चाँहि गर्न सकिन्छ र ?

– गत सातामात्र सोलुखुम्बुको पतालेमा १००औं भाग पुगेको सेलिब्रेसन भएको थियो । सो सेलिब्रेसन नै पो अनलक्की भयो कि ?

त्यस्तो पनि होइन । शृंखलाकै कुरा गर्ने हो भने हामीले ११ वर्षको दौरानमा ५०० भागभन्दा माथि शृंखला पुर्‍याइसकेका छौं । सिजन-२ को १००औँ भाग हो यो । हिमालय टेलिभिजनबाट भने ‘सक्किगो नि’ को १००औँ भाग प्रसारण भएको हो । हाम्रो काम नै यहीँ हो । अरु जानेको पनि छैन र गरौँ भन्ने पनि छैन ।

त्यो सेलिब्रेसन हुँदा पनि हामीलाई हिमालय टेलिभिजनबाट केही चासो देखाइएको थिएन । उक्त खुशीपश्चात भने सिजन-३ ल्याउने हाम्रो सोच थियो । अस्ति उहाँले सल्लाह गर्न बोलाउनु हुँदा पनि हामी सिजन-३ गर्ने प्रस्ताव राख्ने भनेर त्यहाँ पुगेका थियौं । तर, नगर्ने जस्तो कुरा गरेपछि हामी फर्कियौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *