६ वटा प्रदेशमा सरकार गठनको काउन्ट-डाउन सुरू हुँदा मधेसमा केमा अड्क्यो हलो ? – Nepal Press

६ वटा प्रदेशमा सरकार गठनको काउन्ट-डाउन सुरू हुँदा मधेसमा केमा अड्क्यो हलो ?

जनकपुरधाम । ६ वटा प्रदेश प्रमुखले मुख्यमन्त्री चयन अर्थात् सरकार गठनका लागि आह्वान गरिसकेका छन् । तर मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले अझै पनि सरकार गठन प्रक्रिया थालेका छैनन् ।

मधेश प्रदेशसभा १०७ सदस्यीय छन् । यहाँ सरकार बनाउन ५४ साँसद आवश्यक पर्छ । तर सरकार बनाउने बहुमत अर्थात् ५४ साँसद कुनै एक दलको छैन ।

यस प्रदेशमा नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुखले आव्हान गर्नुपर्ने हो ।

तर प्रदेश प्रमुख मिश्रले अहिलेसम्म मुख्यमन्त्रीको दाबी गर्न तथा सरकार गठनका लागि आह्वानसमेत गरेका छैन । केन्द्रको मुख ताकेर प्रदेश प्रमुख मिश्र बसेका छन् ।

नेकपा एमाले, जसपा नेपाल, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । जसपा, राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भइसकेका छैन ।

मधेश प्रदेशमा १० दलको प्रतिनिधित्व छन् । केन्द्रमा बनेको सरकारको आधारमा दलहरुले यो प्रदेशमा सहजै सरकार बनाउन सक्छन् । तर मुख्यमन्त्री कुन पार्टीलाई दिने विषयमा विवाद देखिएको छ ।

हुन त माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेशमा जनमत र जसपालाई आलोपालो मुख्यमन्त्री दिने भनिसकेका छन् । जसपा भने ५ वर्षकै लागि मुख्यमन्त्री दिनुपर्ने अडान राखेपछि समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।

केन्द्रमा सरकारलाई समर्थन गरेका दलहरुमध्ये जसपा मधेश प्रदेश सरकारमा नगएपछि अन्य दलसँग सरकार बनाउने ५४ सांसद पुग्दैनन् । त्यसैले पनि यो प्रदेशमा सरकार गठन गर्न गाह्रो भएको छ ।

जसपाले अहिलेसम्म संसदीय दलका नेतासमेत चयन गर्न सकेका छैन । जसपामा निवर्तमान सभामुख सरोज यादव, मुख्यमन्त्री लालबाबु राउत, पार्टी प्रवक्ता मनिष सुमन र रामअशिष यादव दलका नेताका दावेदार छन् । दलका नेता चयन नभएकाले जसपाले मुख्यमन्त्री पाए को बन्ने पनि यकिन छैन ।

जनमत पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पायो भने मुख्यमन्त्री महेश यादव बन्ने निश्चित छ । सप्तरी २ (२)बाट निर्वाचित यादवलाई जनमत पार्टीले मधेश संसदीय दलको नेता चयन गरिसकेको छ ।

यो प्रदेशमा २३ साँसदसहित नेकपा एमाले सबभन्दा ठूलो दल छ । कांग्रेसको २२, जसपाको १६, जनमतको १३, माओवादीको ९, नेकपा एसको ७ र लोसपाको ९ सांसद छन् । ५ स्वतन्त्र सांसद छन् भने नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको १/१ सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर