काठमाडौंविरुद्ध फारवेस्टको फराकिलो जित, प्लेअफ सम्भावना कायमै – Nepal Press

काठमाडौंविरुद्ध फारवेस्टको फराकिलो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । विनोद भण्डारी र कप्तान हर्शमतुल्लाह शाहिदीको सतकीय साझेदारी प्रेरित काठमाडौं नाइट्लाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै फारवेस्टर्न युनाइटेडले जारी नेपाल टी-२० लिगमा दोस्रो जित निकाल्दै प्लेअफ सम्भावना बचाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको फार वेस्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रनको लक्ष्य काठमाडौंसामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले २० ओभरमा अलआउट हुँदै १ सय १४ रनमा सीमित भयो ।

काठमाडौंका लागि कमलसिंह ऐरीले सर्वाधिक २० रन योगदान गरे । ओपनर विरन्दीपसिंह १४ रनमा आउट हुँदा सन्तोष कार्कीले १२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजाली समान १७ रनमा पभेलियन फर्किएका थिए । सुनम गौतम १६ रनमा आउट भए । त्यो बाहेक काठमाडौंका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

फारवेस्टको बलिङमा करण केसी, दुर्गेश गुप्ता र हर्शमतुल्लाह शाहिदीले समान दुई विकेट लिए । नुर अहमद, प्रकाश जैशीी र मिलिन्दा सिरिवारदानाले समान एक/एक विकेट लिए ।

फारवेस्टका ओपनर द्वय शाहिदी र भण्डारिले उत्कृष्ट ब्याटिङ गरे । शाहिदीले पहिलो विकेटका लागि भण्डारीसँग १ सय ५७ रनको साझेदारि गरेका थिए । जुन जारि लिगको सबैभन्दा धेरै रनको साझेदारि हो । १६.३ ओभरमा अविनाश बोहराको बलमा क्याचआउट हुनुअघि भण्डारीले ४४ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गर्दै ७३ रन योगदान गरे ।

शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७६ रन जोडे । करण केसी ८ बलमा ३ छक्कासहित २२ रनमा अविजित रहे ।

काठमाडौंका वसिर अहमदले ४ ओभरमा २४ रन खर्चिएर तीन विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।

जारि प्रतियोगितामा यसअघि ८औं खेल खेलेको फारवेस्ट एक जित र ६ हारको नतिजासहित २ अंकका साथ तालिकाको पुछारमा छ । फारवेस्टले प्लेअफ पुग्न बाँकी दुई खेल जित्नैपर्ने दवाव रहेको छ । लिगको नवौं खेल खेलेको काठमाडौं समान ४ जित र ५ हारको नतिजासहित ८ अंक जोडेर तेस्रो स्थानमा छ ।

फारवेस्टले अर्को खेलमा शुक्रबार विराटनगर सुपर किङ्सको सामना गर्नेछ । काठमाडौंले लिगको अन्तिम खेलमा विराटनगरसँग सनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर