विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालको ‘ग्रिन सिग्नल’ – Nepal Press

विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालको ‘ग्रिन सिग्नल’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार भएको भेटवार्तापछि अध्यक्ष नेपाल सकारात्मक बनेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।

प्रधानमन्त्रीको प्रचण्डको आग्रहपछि अध्यक्ष नेपालले आफूले पार्टीमा छलफल गर्ने जवाफ दिएका थिए । अध्यक्ष नेपालले भने, ‘प्रचण्डजीले विश्वासको मत दिन आग्रह गर्नुभएको छ । मैले यसबारे पार्टीमा छलफल गर्छु भनेको छु । अब पार्टीबाट निर्णय गर्छौं ।’

उनले आजको भेटमा सरकारमा जानेबारे भने कुनै कुरा नभएको सुनाए ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन । शनिबारदेखि चार दिनसम्म बसेको पार्टी स्थायी कमिटी र पोलिटब्युरो बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेन ।

सरकारबाट औपचारिक प्रस्ताव नआएको भन्दै निर्णयको जिम्मा सचिवालयलाई दिएको थियो । तर, बैठकमा अधिकांश नेताहरुले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्नेमा जोड दिएका थिए ।

आजैमात्र प्रचण्डलाई भेट्नुअघि अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेरमात्रै नभएर सरकारको नीति तथा कार्यक्रमलाई हेरेर पुस २६ गतेसम्ममा निर्णय लिने बताएका थिए ।

माओवादीका अध्यक्ष प्रचण्ड नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सहित १७९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका छन् ।

तर, प्रचण्डले माधव नेपाललाई पनि आफू नेतृत्वको सरकारमा समेट्ने प्रयास गरिरहेका छन् । नेकपा एसलाई पनि सरकारमा समेट्न प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन् । तर, ओली र माधव नेपालबीचको तुषको कारणले अहिलेसम्म प्रचण्डको प्रयास सफल हुन सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार, शक्ति बाँडफाँटलगायतमा प्याकेजमै सहमति हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर