टी-२० लिगमा बेटिङ र फिक्सिङको कनेक्सन खोज्दै सीआईबी, नेपाली खेलाडी पनि शंकाको घेरामा – Nepal Press

टी-२० लिगमा बेटिङ र फिक्सिङको कनेक्सन खोज्दै सीआईबी, नेपाली खेलाडी पनि शंकाको घेरामा

काठमाडौं । बेटिङ र फिक्सिङको विवादमा रहेको नेपाल टी-२० लिगबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले छानबिन अगाडि बढाएको हो । प्रहरीले प्रतियोगितामा बेटिङ र फिक्सिङको कनेक्सन खोजिरहेको छ ।

मंगलबारमात्र नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए । यस विषयमा अनुशासन समितिमा आफूहरूले रिपोर्टसमेत गरेको उनले जानकारी गराए ।

ज्ञानेन्द्रको उक्त अभिव्यक्तिपछि सीआईबीले यसलाई अझ गम्भीररूपमा अनुसन्धान अघि बढाएको प्रहरी बताउँछ ।

प्रारम्भिक अनुसन्धानमा नेपाली खेलाडीको पनि भूमिका शंकास्पद देखिएको बताइएको छ ।

केही नेपाली खेलाडी भारतमा बसेर फिक्सिङका लागि प्रस्ताव गरेको सूचना पाएको एक अनुसन्धान अधिकारी बताउँछन् । ती अधिकारीले नेपालका लागि खेलिसकेका ती खेलाडी को हुन् भनेर खुलाएनन् ।

यसअघि प्रतियोगितामा कमेन्ट्री गरेका सचिन तिमल्सिनाले पनि फेसबुक लाइभमा आउँदै नेपाली खेलाडीमाथि आशंका गरेका थिए । उनले आफूले हरेक बललाई नजिकबाट नियालेको भन्दै एक नेपाली अलराउन्डरको गतिविधिमाथि प्रश्नसमेत उठाए उठाएका थिए । सचिनले ती खेलाडीको नाम भने भनेनन् ।

‘प्रतियोगिता सुरू भएदेखि नै हामीले लिगका गतिविधिलाई सुक्ष्मरूपमा हेरिरहेका थियौ’, स्रोतको भनाइ छ ।

गत महिना त्रिवि क्रिकेट मैदानमै भएको नेपाल र यूएईबीचको खेलमा बेटिङ गरिरहेको आशंकामा ३१ जना भारतीय पक्राउ परेपछि सीआईबीले सम्भावित गतिविधिलाई ध्यानमा राखेर नेपाल टी-२० लाई पनि निगरानीमा राखेको थियो । त्यतिबेला पनि सीआईबीकै टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

‘बेटिङको विषय नयाँ होइन तर जसरी फिक्सिङको कुरा आइरहेको छ अहिले हामीले प्रमाण खोजिरहेका छौँ । बेटिङ र फिक्सिङबीचको कनेक्सन हेरिरहेका छौँ’, एक अनुसन्धान अधिकारीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर