सभामुख निर्वाचनको ‘काउन्डाउन’ सुरु भएको दुई दिनसम्म पनि सुदूरपश्चिममा छैन उम्मेदवारको टुङ्गो – Nepal Press

सभामुख निर्वाचनको ‘काउन्डाउन’ सुरु भएको दुई दिनसम्म पनि सुदूरपश्चिममा छैन उम्मेदवारको टुङ्गो

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी २८ गते सभामुखको निर्वाचन हुँदै छ । १८ गते बसेको प्रदेश सभा बैठकले २८ गते निर्वाचन गर्ने समय निर्धारण गरेको हो ।

१० दिनको समय दिएर सभामुखको निर्वाचनको तयारी थाल्न प्रदेश सभा सचिवालयलाई ज्येष्ठ सदस्य मानबहादुर रावलले रुलिङ गरे ।सभामुख निर्वाचन मितिको २ दिन घर्किसक्दा पनि अहिले सम्म दलहरूले सभामुखका उम्मेदवारहरूको टुङ्गो लगाउन सकेका छैनन् । दलहरू बिच अहिले सम्म सभामुखका विषयलाई लिएर छलफल प्रारम्भ भएको छैन ।

सुदूरपश्चिम प्रदेशमा एमाले,माओवादी र नागरिक उन्मुक्ति तीनै पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका बेला सभामुखका विषयमा उनीहरूले छलफल नै चलाएका छैनन् । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कुन दलले मुख्यमन्त्री पाउने भन्ने बारे नै दलहरू बिच सहमति भएको छैन ।

मुख्यमन्त्री, सभामुख र उपसभामुखको प्याकेजमा सहमति हुने भएको हुँदा दलहरूले अहिले सम्म उम्मेदवारको टुङ्गो लगाउन नसकेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभामा सात सदस्य निर्णायक हुँदा सरकारको समीकरण कस्तो हुन्छ भन्नेमा अन्यौलता छ । मुख्यमन्त्रीको दाबीसहित सरकारमा जाने अठोट लिएको उन्मुक्तिले केन्द्रको समीकरणमा साथ दिन्छ वा नयाँ समीकरण बनाउँछ भन्ने पनि टुङ्गो छैन ।

नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज पाठकले केन्द्रको समीकरणको टुङ्गो नलाग्दा यहाँ कुन दलले कुन पद लिनेबारे निश्चित नभएको बताए । केही दिनमै केन्द्रले टुङ्गो लगाएपछि सभामुख र उपसभामुख जुन पद पायो दलले सोहीअनुसार उम्मेदवार चयन गर्ने उनले बताए ।

‘गठबन्धनमा रहेका कुन दलले सभामुख पाउने भन्ने बारे नै यकिन भएको छैन त्यो यकिन भएपछि उम्मेदवार टुङ्गो लाग्छ’ उनले भने ।

माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित रमेश धामीले पनि पार्टी भित्र सभामुखका विषयमा छलफल नभएको जनाए । सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले पनि अहिले सम्म सभामुखका विषयमा छलफल नभएको जनायो ।

‘प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहेको छ,’ संसदीय दलका नेता रामेश्वर चौधरीले भने त्यस बाहेक विषयमा छलफल भएको छैन ।’
यहाँ माओवादी, एमाले र नागरिक उन्मुक्ति मध्येले मुख्यमन्त्री पाउने र त्यसपछि रहेका दुई दल बिच सभामुख र उपसभामुख पर्ने देखिन्छ ।

माओवादीले मुख्यमन्त्री पाउने अवस्थामा एमालेले सभामुख र नागरिक उन्मुक्तिले उपसभामुखमा चित्त बुझाउनु पर्ने सम्भावना बढी छ ।
त्यस्तै एमालेले मुख्यमन्त्री पाउने अवस्थामा माओवादीले सभामुख र नागरिक उन्मुक्तिले उपसभामुख तथा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने अवस्थामा माओवादीले सभामुख र एमालेले उपसभामुखमा पनि चित्त बुझाउनु पर्ने हुन सक्छ ।

नागरिक उन्मुक्तिले अहिले मुख्यमन्त्री नपाउँदा सम्म सरकार गठन प्रक्रियामा सामेल नहुने अडानले दलहरूलाई सकस भइरहेको छ । नागरिक उन्मुक्ति सत्ता गठबन्धनमा नमिल्दा बहुमत पुग्दैन । यहाँ माओवादीको ११ एमालेको १० र राप्रपाको १ सिट छ । उता कांग्रेसका १९ , नेकपा एकीकृत समाजवादीको ४ र १ स्वतन्त्र सांसद छन् ।

नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने अवस्थामा काँग्रेसी नेतृत्वको गठबन्धनलाई समर्थन गर्दा सोही पार्टीको सरकार बन्ने देखिन्छ । यो परिस्थिति सृजना हुन नदिन अहिले नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुख दिएर पनि मनाउने प्रयास जारी छ ।

अहिले माओवादी केन्द्रले नागरिक उन्मुक्तिलाई प्रदेश प्रमुख बनाएर भएपनि आफूले सरकारका नेतृत्व गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ माओवादीका एक उच्च नेताले भने, प्रधानमन्त्रीलाई मनाउन सुदूरपश्चिमको एक टोली काठमाडौँ पुगेको छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा यो प्रदेशमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्र, सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा थियो । केन्द्रको नयाँ समीकरणका आधारमा पनि यस प्रदेशमा मुख्यमन्त्रीको दाबी नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।

सत्ता गठबन्धन भित्रका दलहरू मात्र होइन सत्ता इतरका दल कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि सभामुखको टुङ्गो लगाउन सकेका छैनन् । सभामुखमा अल्पमतमै भएपनि निर्वाचनमा लड्ने कांग्रेसको रणनीति छ ।

‘हामी अल्पमत वा बहुमतमा परे पनि सभामुखमा हाम्रो उम्मेदवारी रहने छ । सर्वसम्मत सभामुख चयन हुने अवस्था छैन,’ कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर