टिम मालिकहरू सम्पर्कमा आए, भोलिसम्ममा पारिश्रमिक पाउने सहमति छ : रोहित पौडेल – Nepal Press

टिम मालिकहरू सम्पर्कमा आए, भोलिसम्ममा पारिश्रमिक पाउने सहमति छ : रोहित पौडेल

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले जारी नेपाल टी–२० मा उत्पन्न समस्याबारे मुख खोलेका छन् । उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै पारिश्रमिकमा नेपाल क्रिकेट संघ (क्यान) र टिम मालिकहरूसँग सहमति भएको बताए ।

नेपाल टी–२० को आजको म्याचअघि काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सले टसमा सहभागी हुन अस्वीकार गरेका थिए । टिम मालिकहरूबाट पारिश्रमिक नपाएकोमा उनीहरूको असन्तुष्टि थियो । पछि क्यानले खेलाडी र टिम मालिकहरूसँग कुरा गरेर सहमतिमा ल्याएको छ ।

विराटनगर सुपरकिङ्सको कप्तानी गरेका पौडेलले अहिलेसम्म आफ्नो टिमका कसैले पनि पैसा नपाएको बताए । उनका अनुसार कहिलेसम्ममा पारिश्रमिक दिने भन्ने सम्झौतामा उल्लेख थिएन ।

‘टिम मालिकहरूसँग कम्युनिकेसन ग्याप हुँदा समस्या उत्पन्न भएको हो । हाम्रो अभिभावक भएको हिसाबले क्यानसँग गुनासो राखेका हौँ । आज वा भोलिसम्ममा पारिश्रमिक दिने सहमति छ । हामी आशावादी छौं,’ उनले भने ।

अहिले टिम मालिकहरू सम्पर्कमा आएको पौडेलले बताए । खेलअघि उत्पन्न तनावले खेलाडीहरूलाई मानसिक रुपमा असर गर्ने उनको भनाइ छ ।

पौडेलले खेलाडीहरूलाई पारिश्रमिक नदिइएको विषयमा क्यानलाई इमेल पनि गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर