यातायातको अनुगमनपछि मन्त्री श्रेष्ठले भने- जनताले पाएको दु:ख हेरेरमात्र बस्दैनौं – Nepal Press

यातायातको अनुगमनपछि मन्त्री श्रेष्ठले भने- जनताले पाएको दु:ख हेरेरमात्र बस्दैनौं

काठमाडौं । सेवाग्राहीले दैनिक सास्ती भोग्ने यातायात कार्यालयमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज स्थलगत अनुगमन गरेका छन् । बिहान कार्यालय समय सुरू भएसँगै अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय गएर सेवाग्राहीका गुनासो सुने ।

उनले त्यहीँबाट संघ र प्रदेश मन्त्रालय बसेर यातायात व्यवस्था सुधार कार्ययोजना ल्याउने घोषणा गरेका छन् ।

ठूलोभर्‍याङ यातायात कार्यालयको अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री श्रेष्ठले यातायात व्यवस्था कसरी सुधार गर्ने भन्ने विषयमा संघीय सरकारले तत्काल काम थाल्ने र यसका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिए ।

उनले भने, ‘अहिलेको समस्या र कमजोरीलाई अध्ययन गरेर जनतालाई सर्वसुलभ रूपमा सेवा दिनका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौँ । स्थलगत अध्ययन गरेर छिटोभन्दा छिटो यातायात सुधार कार्ययोजना बनाउँछौँ ।’

जनताले अहिलेसम्म पाएको दु:ख अन्त्य गरेर नयाँ ढंगबाट काम गर्ने उनको प्रतिबद्धता छ । जनताको कामलाई सरल ढंगबाट गर्न कर्मचारी थप गरेर भएपनि तत्काल गर्ने बताए ।

उनले भने, ‘जनताले पीडा पाइरहेका छन् । हामी हेरेर बस्दैनौँ । हेरेर बस्ने भए हाम्रो काम छैन । त्यसैले हामीले त्यो समस्या समाधान गर्नुपर्छ ।’

उनले सर्वसुलभ रूपमा सुशासनमा रहेर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए ।

तस्बिरहरु : गौरव पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर