काठमाडौंसँग ३४ रनले हार्‍यो विराटनगर, प्लेअफ पुग्ने सम्भावना न्यून – Nepal Press
टी-२० लिग

काठमाडौंसँग ३४ रनले हार्‍यो विराटनगर, प्लेअफ पुग्ने सम्भावना न्यून

काठमाडौं । खेलाडीको पारिश्रमिक विवादका कारण निर्धारित समय भन्दा दुई घण्टा ढिला गरी ९ ओभरमा घटाइएको खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किङ्सलाई ३४ ले पराजित गर्दै जारी नेपाल टी–२० लिगमा चौथो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९३ रनको लक्ष्य विराटनगर सामु प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगर निर्धारित एक बल बाँकी रहँदा अलआउट हुँदै ५८ रनमा सीमित भयो । पराजित भएसँगै विराटनगरको प्लेअफ सम्भावना लगभग सकिएको छ । विराटनगर ७औँ खेलमा २ जित र पाँच हारको नतिजासहित पाँचौँ स्थानमा छ ।

काठमाडौंले ७ खेलमा चार जित र तीन हारको नतिजासहित ८ अंक जोडेको छ ।

विराटनगरको ब्याटिङमा गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए । विवेक यादव १२ रन र नन्दन यादव ११ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले १।५ ओभरमा १३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । अनिल खरे र सुनम गौतमले समान दुई विकेट लिँदा वसिर अहमद र अविनाश बोहराले एक/एक विकेट लिए ।

यसअघि, काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रनको इनिङ खेले । कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रन योगदान गरे ।

विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए ।

आज हुने दोस्रो खेलमा लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

तस्बिरहरु : उमेश कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर