नेपाल टी-२० : विदेशी ब्याट्सम्यानसँग जुधिरहेका आसिफ र सन्दीप – Nepal Press

नेपाल टी-२० : विदेशी ब्याट्सम्यानसँग जुधिरहेका आसिफ र सन्दीप

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको नेपाल टी-२० क्रिकेटमा विदेशी ब्याट्सम्यानहरु हावी भइरहेका छन् । नेपाली ब्याट्सम्यानले समग्रमा गतिलो प्रदर्शन गर्न नसकिरहेका बेला सन्दीप जोरा र आसिफ शेखको प्रदर्शन भने तारिफ योग्य रहेको छ ।

प्रतियोगिता डबल लिग राउन्ड रोबिनका खेलहरु चलिरहेका बेला सर्वाधिक रन बनाउने शीर्ष ८ ब्याट्सम्यानमा नेपालका दुईजना खेलाडी छन् । सन्दीप जोरा ७ खेलमा २२१ रन जोडेर दोस्रो स्थानमा छन् । उनले प्रतियोगितामा २ अर्धशतक बनाएका छन् । उनको योगदानमा १५ छक्का र ११ चौका रहेको छ ।

जनकपुर रोयल्सबाट खेलिरहेका सन्दीपले एकै खेलमा अविजित ७७ रनसम्म बनाएका छन् । उनको स्ट्राइक रेट १४५.३९ रहेको छ । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा शीर्षस्थानमा रहेका काठमाडौं नाइट्सका एलेक्स ब्लेकको ६ खेलमा २४४ रन रहेको छ । उनले २ अर्धशतक बनाएका छन् भने समान १७ छक्का र १७ चौका प्रहार गरेका छन् । एकै खेलमा उनले ८३ रनसम्म बनाएका छन् । प्रतियोगितामा ब्लेकको स्ट्राइक रेट १५७.४१ छ ।

८ खेलमा २११ रन बनाएका पोखरा एभेन्जर्सका आसिफ शेख चौथो स्थानमा छन् । प्रतियोगितामा उनले २ अर्धसतक बनाएका छन् । उनले ४ छक्का र १७ चौका हिर्काएका छन् । उनले एकै खेलमा अविजित ७७ रनसम्म बनाएका छन् । राष्ट्रिय टोलीका विकेटकिपर समेत रहेका आसिफले ११३.४४ को स्ट्राइक रेटमा प्रतियोगितामा ब्याटिङ गरिरहेका छन् ।

जारी प्रतियोगितामा नेपाली ब्याट्सम्यानमध्ये सुमित महर्जनले १३७.५ को स्ट्राइक रेटसहित ५ खेलमा एक सय ६५, सुनाम गौतमले १००.६२ को स्ट्राइक रेटसहित ५ खेलमा एक सय ६१ र कुशल मल्लले १६१.६१ को स्ट्राइक रेटसहित ७ खेलमा एक सय ६० रन बनाएका छन् ।

दीपेन्द्रसिंह ऐरीले ७ खेलमा १५७, रोहित पौडेलले ६ खेलमा १३७, देव खनालले ६ खेलमा १३०, कुशल भुर्तेलले ७ खेलमा १०४, सिद्धान्त लोहनीले ८ खेलमा १०३, अर्जुन साउदले ५ खेलमा ९४ रन बनाएका छन् । अन्य नेपाली ब्याट्सम्यानले प्रतियोगितामा योभन्दा कम रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर