लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु – Nepal Press

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन सुरु

रुपन्देही । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ ।

प्रदेश राजधानी दाङको देउखुरीमा आइतबार सांसदहरूले शपथ लिएपछि आजदेखि पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन् ।

उनलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी दिएका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।

यो अधिवेशनमा सोमबार दुई वटा बैठक बस्ने कार्यसूची छन् ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव पुनले बताए ।

बैठकमा राजनीतिक दलहरूको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने छन् ।

लुम्बिनी प्रदेश सभामा यस पटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । आजको अधिवेशनसँगै सरकार गठनको प्रक्रिया पनि सुरु भएको छ ।

अहिलेसम्म माओवादीबाहेक सबै दलले दलको नेता छानिसकेका छन् । सरकार गठनका लागि एमाले,माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमतसहित केन्द्रमा सत्ता गठबन्धनमा रहेका ६ दल यहाँ पनि रहेका छन् । ८७ सदस्य प्रदेश सभामा यी दलको सांसद संख्या ५२ रहेको छ । प्रदेशको नेतृत्वका लागि एमाले र माओवादीले दाबी गरे पनि एमालेले नै पाउने सम्भावना बढी रहेको छ ।

को हुन् अस्थायी सभामुख बनेका भुसाल ?

प्रदेश सभामा सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले यसको सञ्चालन गर्नेछन् । आइतबार शपथ लिएसँगै उनले यसको सुविधा लिइसकेका छन् ।

गुल्मी क्षेत्र नम्बर २ को १ बाट निर्वाचित भुसाल प्रदेश सभाका ८७ जना सांसदहरूमध्ये ज्येष्ठ सदस्य रहेकाले उनको अध्यक्षतामा बैठक बस्न लागेको हो। निर्वाचन आयोगलाई बुझाएको विवरणअनुसार उनको जन्म २०१० साल जेठ ७ गते भएको हो। ६९ वर्षीय भुसालले सभामुख र उपसभामुख चयन नहुँदासम्म बैठकको अध्यक्षता गर्नेछन्।

रेसुङ्गा नगरपालिका–१ नयाँबजार तम्घास निवासी भुसालको जन्म भने अर्घाखाँची जिल्लाको साविक मरेङ गाविस ६ हाल मालारानी–१ मा भएको थियो ।

रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुखसमेत रहेका भुसाल हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन्।

२०३८ सालमा माले पार्टीसँग आबद्ध भई लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य बनेका उनले रेसुङ्गा नगरपालिका पार्टी इन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी निभाई सकेका छन्।

तम्घास अस्पताल विकास समितिको प्रथम अध्यक्ष, गुल्मी उद्योग वाणिज्य संघको पूर्व अध्यक्षसमेत रहेका भुसाल दर्जनौँ सामाजिक संघ संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।

उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर