पोखराको साहसिक कमब्याक, सुरुका ५ खेल हारेपछि लगातार तेस्रो जित – Nepal Press

पोखराको साहसिक कमब्याक, सुरुका ५ खेल हारेपछि लगातार तेस्रो जित

काठमाडौं। पोखरा एभेन्जर्सले जारी नेपाल टी-२० क्रिकेटमा शानदार पुनरागमन गरेको छ। सुरुका लगातार पाँच खेल हारेको पोखराले त्यसपछि लगातार तेस्रो जित हात पारेको छ। पोखराको यो लयपछि शीर्ष-४ को सम्भावना कायमै राखेको छ।

पोखरा ८ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। विराटनगर सुपर किङ्सको ६ खेलबाट ४ र फार वेस्ट युनाइटेडको ५ खेलबाट २ अंक छ। राउन्ड रोबिन डबल लिगमा पोखराले अब दुई खेल खेल्न बाँकी छ।

६ टोली सहभागी रहेको प्रतियोगिताको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर हुने छ भने उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ।

टोलिमा आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, उपुल थारङ्गा, सिद्धान्त लोहनी, सुमित महर्जनजस्ता खेलाडी रहेर पनि पोखराले सुरुका पाँच खेलमा निराशाजनक प्रदर्शन गरेको थियो।

छैटौँ खेलमा फार वेस्ट युनाइटेडविरुद्ध एक सय ८८ रनको लक्ष्य पुरा गर्दै पोखराले पहिलो जित हात पारेको थियो। त्यस खेलमा पोखराले ३ विकेटको जित हात पार्दा आसिफ शेखले ४५, कुशल मल्लले ४० र सुमितले ३८ रनको पाली खेलेका थिए।

सातौँ खेलमा पोखराले अपराजित रहेको लुम्बिनीले पहिलो हारको स्वाद चखायो। लुम्बिनीलाई केवल एक सय २७ रनमा सीमित गरेको पोखरा ९ विकेटले विजयी भएको थियो।

पोखराको त्यस जितमा आसिफ शेखले अविजित ७७ र उनका भाइ आरिफले अविजित २६ रन बनाएका थिए। लुम्बिनीलाई सस्तोमा समेट्न विपिन खत्री र जाहिर खानले ३र३ विकेट लिएका थिए।

सोमबारको खेलमा पोखराले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गर्‍यो। काठमाडौंले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले २ बल बाँकी छँदा पुरा गर्‍यो।

पोखराका सुमितले ७६ र उपुल थारङ्गाले ५८ रन जोडे। उनीहरुले तेस्रो विकेटका लागि एक सय १२ रनको साझेदारी गरेका थिए। पोखरासँग पराजित भएको काठमाडौंको ६ खेलबाट ६ अंक रहेको छ। जनकपुर रोयल्सको ६ खेलबाट ८ र लुम्बिनीको ७ खेलबाट १२ अंक छ। पोखराले बाँकी दुवै खेल जितेमा प्ले अफमा स्थान पक्का गर्ने छ।

तथ्यांकमा पोखराका खेलाडीको प्रभाव

जारी नेपाल टी-२० मा पोखरा ८ खेल खेलेर चौथो स्थानमा रहँदा उसका ब्याट्सम्यानहरू सर्वाधिक रन बनाउनेको शीर्ष १० सूचीमा तीन जना रहेका छन्। आसिफ शेख २ अर्धशतकसहित २ सय ११ रन जोडेर दोस्रोमा छन्।

पहिलो स्थानमा रहेका एलेक्स ब्लेकको ६ खेलबाट २ सय ४४ रन रहेको छ। उनले पनि २ अर्धशतक बनाएका छन्। थारङ्गा एक सय ९९ रनसहित चौथो र एक सय ६५ रनसहित सुमित नवौँ स्थानमा छन्। बलिङतर्फ पोखराका जाहिर खान १३ विकेटसहित शीर्षस्थानमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर