नेकपा एसको सिद्धान्त मानेर आउनेलाई खुल्ला छ, तर एमाले र माओवादीसँग तत्काल एकता हुन्न : उपाध्यक्ष जयन्ती राई – Nepal Press

नेकपा एसको सिद्धान्त मानेर आउनेलाई खुल्ला छ, तर एमाले र माओवादीसँग तत्काल एकता हुन्न : उपाध्यक्ष जयन्ती राई

'जनजीविका र भ्रष्टाचारमा सडक र सदनबाट दबाब दिन्छौँ, साँच्चैको क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ'

काठमाडौं। नेकपा एसकी उपाध्यक्ष जयन्ती राईले पार्टी अहिले कसैसँग एकताभन्दा पनि क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्ने अठोटका साथ संगठन निर्माणमा अघि बढ्ने बताएकी छन् ।

राष्ट्रियसभा सांसदसमेत रहेकी उनले एमाले र माओवादीसँगको एकतालाई भने तत्काललाई खारेज गरिन् । तर, वाम एकताका लागि पार्टीले सक्ने भूमिका निभाउने उनको भनाइ छ ।

‘कम्युनिष्ट पार्टीबीचको एकताका लागि हामीले सक्ने गर्छौं । प्रतिगमन भन्दै उफ्रिएका प्रचण्डलाई अहिले सबै सच्चियो । कम्युनिष्ट त भनेकै छन् वामपन्थी पनि भनेका छन् । तर, व्यवहार देखाएनन्’, उनले नेपाल प्रेससँग भनिन्, ‘संगठन गठन र पुनर्गठन व्यापक बनाउँछौं । जनजीविका, भ्रष्टाचारका कुरा सडकमा र सदनमा लान्छौं ।’

उपाध्यक्ष राईले नेकपा एसको सिद्धान्त र नीति मानेर आउनेलाई भने सधैँ ढोका खुल्ला राखिने बताएकी छन् । माओवादी र एमालेसँग एकता असम्भव नै भन्ने चाहिँ नहुने उनको भनाइ छ ।

अहिले सबै हल्लामात्र फिँजाइएको भन्दै उनले यतिबेलै चाहिँ वातावरण नभएको बताइन् । चुनावअघि र अहिले एमालेका केही नेताले एकताको हल्ला फिँजाएर आफ्ना कार्यकर्तालाई भ्रम सिर्जना गरेको उनको दाबी छ ।

‘एकता भनेको एउटा पार्टी अर्कोमा जाने कुरामात्र भएन । कि हामी सबै स्वीकारेर जानुपर्‍यो । अहिले जानु भनेको विलय हुने हो । हामी पहिला शक्ति निर्माण गर्छौं । छरिएर रहेका शक्ति एकढिक्का हुन्छौं । अन्य पार्टीका साथीहरू पनि भित्रिन खोजिरहनुभएको छ । उहाँहरूलाई ल्याउँछौं, नयाँ विचार नयाँ बानी व्यवहार देखाउनुपर्छ । भिन्न गरेर जानुपर्छ’, नेतृ राईले भनिन् ।

पछिल्लो दिनमा चलिरहेको बैठकमा सबैजना उत्साही भएको भन्दै उनले जनताको एजेण्डामा साथ दिने साँच्चै एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी आवश्यक रहेको औंल्याइन् ।

नेकपा एस अहिले सरकारमा नजाने भन्दै उनले गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताइन् । आफूहरूमाथि गर्ने व्यवहार, न्यूनतम साझा कार्यक्रमलाई मात्र हेरेर प्रचण्ड सरकारलाई समर्थन गर्नेरनगर्ने निर्णय गर्ने उपाध्यक्ष राईले उल्लेख गरिन् ।

उनले थपिन्, ‘राजावादी, विखण्डनकारी, चरम अवसरवादी, गैरनागरिक र वामपन्थीको खिचडी सरकार बन्यो । यस्तो सरकारबाट आशा त के गर्न सकिन्छ र । त्यही हामीलाई कस्तो व्यवहार गर्छ । न्यूनतम साझा कार्यक्रम हेर्छौं । अनि समर्थनबारे टुंग्याउँछौं । अहिले सरकारमा जान तम्सिन हुँदैन ।’

अहिलेको गठबन्धन भत्किनुमा उनले मुख्य दोष देउवालाई दिएकी छन् । त्यसपछि प्रचण्ड र केपी ओलीको भूमिकामा पनि उनले प्रश्न गरिन् । आफ्नो पार्टीका अध्यक्ष माधव नेपाललाई भने यो प्रक्रियामा गुमराहमा राखिएको उनको भनाइ छ ।

उपाध्यक्ष राईसँगको विस्तृत कुराकारी भने आज दिउँसो प्रकाशन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर