सुदूरपश्चिममा भोलि एमाले र माओवादीले दलको नेता छान्ने, कांग्रेस अझै अनिश्चित – Nepal Press

सुदूरपश्चिममा भोलि एमाले र माओवादीले दलको नेता छान्ने, कांग्रेस अझै अनिश्चित

कैलाली । सुदूरपश्चिम प्रदेशमा भोलि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता छनोट गर्ने भएको छ । संसदीय दलको नेता छनोट गर्न भोलि नेकपा एमालेले दलको बैठक बोलाएको छ ।

एमालेले भोलि बिहान दलको बैठक आह्वान गरेको एमाले प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार भोलि बिहान ८ बजे बस्ने बैठकले सर्वसम्मत दलको नेता छनोट गर्ने छ ।

नेकपा एमालेमा अहिलेसम्म खुलेर दलको नेता दाबी गर्नेहरु देखिएका छैनन् । तर, राजेन्द्र रावल र धर्मराज पाठकलाई सम्भावित दलको नेताको रुपमा हेरिएको छ । रावल पोलिट ब्यूरो सदस्य हुन् भने पाठक प्रदेश सचिव हुन् ।

उता माओवादी केन्द्रले भने पहिलो चरणमा प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको छलफल र त्यसपछि मात्रै दलको बैठक बोलाएको छ । भोलि बिहान ८ बजे धनगढीको एक होटेलमा प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यको बैठक बस्ने र त्यसपछि १ बजे संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने छ ।

माओवादीमा भोलि सर्वसम्मत रुपमा दलको नेता छनोट गर्न सकस हुने संकेत देखिएको छ । अहिलेसम्म खगराज भट्ट र ओमविक्रम भाटले दलको नेतामा दाबी गरेका छन् । भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् भने भाट केन्द्रीय सदस्य हुन् । यी बाहेक अन्य केहीले पनि दलको नेतामा दाबी गरेकाले सर्वसम्मत गर्न समस्या भइरहेको माओवादी केन्द्रका नेताहरूले बताए ।

एमाले र माओवादीले भोलि दलको नेता छनोट गर्ने तयारी गरिरहेका कांग्रेसमा भने दलको नेता छनोट गर्ने विषय अनिश्चित बनेको छ । प्रदेश समितिले निर्वाचन मण्डल तयार गरेर त्यसैले दलको नेता छनोटको प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ । तर, अहिलेसम्म प्रदेश समितिमा यस विषयमा छलफल सुरु भएको छैन ।

संसदीय दलका विषयमा छलफल सुरु नभएको हुँदा दलको नेता छनोट गर्न अझै एक साता लाग्न सक्ने कांग्रेस प्रदेश महामन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्काले बताए । १९ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसमा दलको नेताका लागि आधा दर्जन बढी आकांक्षी छन् ।

अहिलेसम्म प्रदेशमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले मात्र दलको नेता छनोट गरेको छ । यहाँ नेकपा एसको दलको नेतामा दीर्घ सोडारी र नागरिक उन्मुक्तिको नेतामा रामेश्वर चौधरी छनोट भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर