लुम्बिनीका प्रदेश सांसदहरुको शैक्षिक योग्यता के कति ? – Nepal Press

लुम्बिनीका प्रदेश सांसदहरुको शैक्षिक योग्यता के कति ?

रुपन्देही । नेपालमा संघीय तथा प्रदेश सांसद हुन शैक्षिक योग्यता तोकिएको छैन । तर, मन्त्रालय, विषयगत समितिको जिम्मेवारी दिने वेला भने कुन सांसदले कुन विषयमा कति अध्ययन गरेका छन् भन्ने विषयमा बढी चासो राखिन्छ ।

विशेषगरी विषयगत विज्ञता भएका सांसदहरु सोहीअनुसार मन्त्रालय र समितिमा परे कर्मचारीले समेत सघाउने र त्यसको कार्यसम्पादन पनि राम्रो हुने हुन्छ । तर दलहरुले यसतर्फ ध्यान दिएका छैनन् । व्यक्तिको क्षमता र विज्ञता, आधारभूत ज्ञान र अध्ययन तथा रुचिको विषय नहेरी भागबन्डाका आधारमा मन्त्रालयको जिम्मेवारी दिइँदा कार्यसम्पादन फितलो हुँदै आएको छ ।

लुम्बिनी प्रदेशसभाको दोस्रो निर्वाचनमा चसनिएका सात जना सांसदले स्नातकोत्तर गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार स्नातक पास गरेका १६ जना प्रदेश सांसद निर्वाचित भएका छन् । त्यस्तै निर्वाचित भएकामध्ये १२ जनाले प्लस टु उत्तीर्ण गरेका छन् । ११ जना सांसद एसएलसी उत्तीर्ण छन् ।

कूल सांसदमध्ये २ जना साक्षरमात्र छन् । निर्वाचन आयोगको विवरणमा चार जनाले शैक्षिक योग्यता समावेश गरेका छैनन् । यो प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको शैक्षिक योग्यताको विवरण हो ।

२ जना एसएलसी अनुत्तीर्ण, ४ जनाले खुलाएनन् शैक्षिक योग्यता

निर्वाचन आयोगको विवरणअनुसार बर्दिया १ (२) बाट निर्वाचित राजकुमार चौधरी र पश्चिम नवलपरासी २ (१) बाट निर्वाचित देवकरणप्रसाद कलबारको शैक्षिक योग्यता अण्डर एसएलसी छ । रुकुमपूर्व (१) का सुरुल पुन, बाँके १ (२) का दुर्गाप्रसाद चौधरी र गुल्मी २ (१) का डिल्लीराम भुसालले आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् ।

एसएलसी उत्तीर्ण सांसदहरु

गुल्मी क्षेत्र नं १ (१) बाट निर्वाचित चिन्तामणि पाण्डे, पाल्पा १ (१) का राजुप्रसाद श्रेष्ठ, पाल्पा २ (२) का तुलाराम घर्तीमगर, रुपन्देही ३ (२) का तुल्सीप्रसाद चौधरी, कपिलवस्तु २ (१) का नवराज लामिछाने, दाङ १ (१) का इन्द्रजीत थारु, २ (२) का अनुराग खड्का, बर्दिया १ (१) का भुवनेश्वर चौधरी, रुकुम पूर्व (२) का धनबहादुर केसी, रोल्पा (२) का दीपेन्द्र पुन मगर, कपिलवस्तु १ (२) का मधुसुदन शरण चौधरी र प्यूठान (१) बाट निर्वाचित सांसद तुल्सीराम शर्माले एसएलसी पास गरेका छन् ।

प्लस टु पास सांसदहरु

अर्घाखाँची (२) का रामजी घिमिरे, पाल्पा २ (१) का वीरबहादुर राना, रुपन्देही १ (१) का आशिषकुमार चौधरी, रुपन्देही २ (१) का लीला गिरी, दाङ ३ (२) का धनबहादुर मास्की, रुपन्देही ४ (२) का वसिउद्दिन खाँ, रुपन्देही ५ (२) का चन्द्रकेश गुप्ता, बाँके १ (१) का कृष्णा केसी, बाँके २ (१) का भण्डारीलाल अहिर, बाँके ३ (२) का बादशाह कुर्मी, गुल्मी १ (२) का धनेन्द्र कार्की र नवलपरासी २ (२) का वैजनाथ कवलवारले प्लस टु पास गरेको आयोगको विवरणमा उल्लेख छ ।

यी हुन् स्नातक उत्तीर्ण सांसद

अर्घाखाँची (१) का चेतनारायण आचार्य, गुल्मी २ (२) का दिनेश पन्थी, रुपन्देही २ (२) का भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३ (१) का सन्तोषकुमार पाण्डेय, रुपन्देही ५ (१) का भूमिश्वर ढकाल, रुपन्देही १ (२) का अब्दुल रज्जाक, कपिलवस्तु ३ (२) का जानकीप्रसाद यादव, दाङ २ (१) का राजु खनाल,  दाङ ३ (१) का डिल्लीबहादुर चौधरी, बाँके २ (२) का आदेशकुमार अग्रवाल, बर्दिया २ (१) का जन्मजय तिमिल्सिना, प्यूठान (२) का सरोज थापा, रोल्पा (१) का जोखबहादुर महरा, पश्चिम नवलपरासी १ (१) का विश्वप्रेम पाठक, २ (२) का खड्क बस्नेतले स्नातक तह पास गरेका छन् ।

स्नातकोत्तर उत्तीर्ण सात सांसद

कपिलवस्तु १ (१) का विष्णुप्रसाद पन्थी, कपिलवस्तु २ (२) का सुधाकर पाण्डेय, दाङ २ (२) का प्रचण्डविक्रम न्यौपाने, कपिलवस्तु ३ (१) का अर्जुनकुमार केसी, पाल्पा १ (२) का खेमबहादुर सारु, रुपन्देही ४ (१) का कन्हैया बनियाँ, बर्दिया १ (१) का धर्मबहादुर चौधरी, र बाँके ३ (२) बाट निर्वाचित रत्नबहादुर खत्रीले मात्रै स्नातकोत्तर पास गरेका छन् ।

प्रदेशसभामा दोहोरिएर निर्वाचित सांसद विष्णु पन्थी मन्त्रालय र विषयगत समितिमा सांसदको अध्ययन र विज्ञताको आधारमा जिम्मेवारी दिए बढी प्रभावकारी हुने बताउँछन् ।

‘मन्त्री त्यो विषयमा कति जानेको छ भन्ने कर्मचारीको विशेष चासो हुन्छ, जानकार नभएको व्यक्तिले जिम्मेवारी पाउँदा कर्मचारीले घुमाउने र आफ्नो इन्ट्रेस्टको काममात्रै गर्ने बानी बसेको छ’, उनले भने, ‘अर्कोतिर जिम्मेवारीमा बस्नेमा दक्षता भएन भने कार्यसम्पादनभन्दा बढी आलोचना हुन्छ । सबै दलले यो विषयमा गम्भीर हुनुपर्दछ ।’

पहिले राजनीतिमा यी सबै विषयमा त्यति चासो नदिइने उनको भनाइ छ । ‘अहिले प्रविधिको विकासमा अपडेट हुन सकिएन र नयाँ पिँढीसँग मिलेर काम गर्न सकिएन भने काम देखाउनै सकिँदैन’, पन्थीले थपे ।

अधिवक्ता विष्णुप्रसाद पौडेल भागबन्डाका आधारमा पूर्ण क्षमता नभएका व्यक्तिहरुलाई मन्त्रालय तथा अन्य जिम्मेवारी दिँदा नै प्रदेशकाे बढी आलोचना भएको बताउँछन् । ‘सबै विज्ञलाई मात्रै यस्ता जिम्मेवारी दिएर पनि पार लाग्दैन, यसमा ६० र ४० हुनुपर्दछ । जुन विभागको जिम्मेवारी हो, त्यसमा उसको आधारभूत ज्ञान हुनुपर्दछ’, उनले भने, ‘भागबन्डाका आधारमा दिइने जिम्मेवारीले प्रभावकारी काम भएन । असक्षमहरुलाई जिम्मेवारी दिँदा प्रदेशकै बढी आलोचना भएको हो, इच्छाशक्ति भएका व्यक्तिहरु हुनुपर्दछ ।’

विश्वमा केही व्यक्तिले औपचारिक शिक्षा नलिए पनि चमत्कार गरेका छन् । सर्टिफिकेटले मात्रै पनि अर्थ राख्दैन । उसको व्यक्तिगत क्षमताको पहिचान गरिनुपर्ने उनको भनाइ छ ।

प्रदेशमा ६३ जना नयाँ आए

प्रदेशसभामा चुनिएका ८७ सांसदमध्ये ६३ जना नयाँ अनुहार छन् । प्रत्यक्षतर्फ निर्वाचित २९ जना सांसद पहिलोपटक प्रदेशसभामा पुगेका छन् । समानुपातिकतर्फका ३५ जनामध्ये सुमन शर्मा रायमाझीमात्रै पुराना हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभामा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै २४ जना सांसद रुपन्देहीबाट चुनिएका छन् । समानुपातिकतर्फ पनि रुपन्देहीले सबैभन्दा धेरै ९ सांसद पाएको छ ।

बाँकेबाट १८ जना सांसद चुनिएका छन् । समानुपातिकतर्फ बाँकेले प्रतिनिधिसभामा २ र प्रदेशसभामा ७ जना सासंद पाएको छ । दाङ र बर्दियाबाट समान १५-१५ जना सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधिसभातर्फ रुकुमपूर्व, गुल्मी, प्यूठानबाट समानुपातिकमा कोही पनि चुनिएनन् । पश्चिम नवलपरासीबाट प्रदेशसभामा समानुपातिक सांसद परेनन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी बर्दियाले ५ जना सांसद पाएको छ । प्रतिनिधिसभातर्फ सबैभन्दा धेरै सांसद भने बर्दियाका छन् । बर्दियाबाट प्रतिनिधिसभामा ७ जना सांसदले प्रतिनिधित्व गरेका छन् । रुपन्देहीबाट ६ जना चुनिएका छन् ।

दुबै सभामा कपिलवस्तुबाट ११, गुल्मीबाट १०, पाल्पाबाट ८, नवलपरासीबाट ७, प्यूठान, रुकुमपूर्व, रोल्पा र अर्घाखाँचीबाट ५-५ जना सांसद चुनिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर