मधेसका प्रदेश सांसदहरुले लिए शपथ, काेही मौलिक भेषभूषामा सजिए (तस्बिरहरुसहित) – Nepal Press

मधेसका प्रदेश सांसदहरुले लिए शपथ, काेही मौलिक भेषभूषामा सजिए (तस्बिरहरुसहित)

जनकपुरधाम । मधेस प्रदेशका सांसदहरुले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । यहाँ प्रत्यक्षतर्फका ६४ र समानुपातिक ४३ गरी १०७ जना सांसद छन् । जसमध्ये १०४ जना सांसदले शुक्रबार शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य गोविन्द्रबहादुर न्यौपानेले शपथ गराएका हुन् ।

न्यौपानेले बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ लिएका थिए । माओवादीका समानुपातिक सांसदद्वय सप्तरीकी माला कर्ण र महोत्तरीका मो. रजी हैदरले शपथ लिन पाएनन् । सर्वोच्चको अल्पकालीन आदेशको आधारमा प्रदेशसभा सचिवालयले उनीहरु दुबैलाई शपथ ग्रहण गर्नबाट रोकेको जनाएको छ ।

शुक्रबार शपथ लिएका १०४ जनामध्ये चार सांसदले सबैको ध्यान तान्यो । शपथ लिन नवनिर्वाचित सांसदहरुसँगै आफन्त र कार्यकर्ता पनि आएका थिए । जसका कारण प्रदेशसभा सचिवालय परिसर भरिभराउ थियो ।

प्रदेश साँसदहरु जितेन्द्र सोनल, किरणकुमारी साह, सतिश सिंह र उर्मिलादेवी सिंह सबैको आँखामा परे । उनीहरु आफ्नो मौलिक पहिचान झल्किने भेषभूषामा शपथ कार्यक्रममा सहभागी भएका थिए ।

जितेन्द्र सोनल बारा क्षेत्र नम्वर ४ (२) बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद हुन् । २०७४ सालमा समेत निर्वाचित उनी प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए ।

दोस्रो पटक निर्वाचित भएर शपथ लिन प्रदेशसभा परिसरमा पुग्दा उनले सबैको ध्यान ताने । उनी मधेसी पहिरण धोती, कुर्ता, गम्छा र पागमा सजिएका थिए । कुर्तामाथि बण्डी लगाएका उनी झन् आकर्षक देखिएका थिए । आकर्षक पहिरणमा आएका उनीसँगै धेरैले सेल्फी लिए ।

सोनलले नेपाल प्रेससँग भने, ‘लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत हुन लागेको छ । हामी सबै सांसद प्रदेशसभामा लोकतान्त्रिक विधि प्रक्रियाबाट चुनाव जितेर आएका छौं । लोकतन्त्रवादी, संघीयतावादी र परिवर्तनवादीको लागि आजको दिन महत्वपूर्ण छ ।’

उनले सभ्यता, संस्कृति र भाषाको सम्मानकै लागि लडेर देशमा संघीयता र गणतन्त्र ल्याएको बताए । त्यसैले सांस्कृतिक, ऐतिहासिक पहिरणमा शपथ लिएको उनको भनाइ छ ।

मातृभाषा भोजपुरी रहे पनि उनले हिन्दी भाषामा शपथ लिए । उनले भने, ‘हिन्दीले सबै भाषालाई जोड्छ । त्यसैले मैले हिन्दीमा शपथग्रहण गरें ।’

त्यस्तै जनमत पार्टीका सांसद सतिश सिंह पनि कुर्ता, पैजमा र पागमा सज्जिएर प्रदेशसभा पुगेका थिए । उनी प्रदेशसभा परिसरमा पुग्दा जनमतका कार्यकर्ताहरुले घेरे र सामूहिक तस्विर खिचाए । कतिले उनीसँग सेल्फी पनि ताने ।

मधेसमा जनमतका १३ जना सांसद छन् । तर, सिंह विद्रोही बने । उनले मधेसी भाषामा शपथ लिने पार्टीको निर्णय अस्वीकार गरे । उनले मैथिली भाषामा शपथ लिएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्वर २ (१) मा उनले मधेसका अर्थमन्त्री तथा जसपा उम्मेदवार शैलेन्द्र साहलाई पराजित गरेका थिए । उनी प्रदेश सांसदमा चुनाव लड्न लोसपा त्यागेर जनमतमा प्रवेश गरेका थिए । उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् ।

किरण साह जसपाकी समानुपातिक सांसद हुन् । सप्तरीकी उनी रातो सारीमा सज्जिएर शपथग्रहण गर्न पुगेकी थिइन् । उनले लगाएको मङ्गटीका र अन्य गहनाले सबैको ध्यान तानेको थियो । उनी अन्य महिला सांसदको तुलनामा आकर्षक देखिएकी थिइन् ।

यस्तै सर्लाही रामनगर घर भएकी नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद उर्मिलादेवी सिंह पनि अन्यभन्दा फरक देखिइन् । उनले थारु भेषभूषामा शपथ लिइन् ।

उनले मङ्गटीका, डरकस, चुरा र सिक्री लगाएकी थिइन् । उनले भनिन्, ‘मैले लाएको सबै थारु गहना हो । आफ्नो पहिचान झल्काउन परम्परागत गहना लगाएर आएकी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर