विराजलाई एकमात्र एक्सन हिरो भनेका आर्यनले फेसबुकमा मागे माफी – Nepal Press

विराजलाई एकमात्र एक्सन हिरो भनेका आर्यनले फेसबुकमा मागे माफी

काठमाडौं । चकलेटी हिरोका रुपमा चर्चित आर्यन सिग्देलले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै दर्शकसँग माफी मागेका छन् । आफूले दिएको एक अभिव्यक्ति विवादमा परेपछि उनले फेसबुकमा स्टपष्टीकरणसहित क्षमायाचना गरेका हुन् ।

उनले स्टाटसमा आफूले नायकद्वय निखिल उप्रेती र विराज भट्टलाई दाई भन्ने भएकाले आफ्नो लागि कोही घटीबेसी नभएको उल्लेख गरेका छन् ।

के हो विवाद ?

यतिबेला आर्यन आफ्नो रिलिजको मुखमा रहेको चलचित्र ‘डिसेम्बर फल्स’ को प्रचारप्रसारमा व्यस्त छन् । अरुबेला मिडियामा त्यति सक्रिय नरहने उनी चलचित्रको प्रोमोसनमा भने मिडिया हाउस चहारिरहेका छन् ।

यसै चलचित्रको प्रोमोशनको दौरानमा उनले एक पोडकास्ट अन्तरवार्तामा विराज भट्ट मात्र नेपालको ‘रियल एक्सन हिरो’ भएको दाबी गरेका थिए । उक्त दाबीमा प्रतिक्रिया जनाउँदै धेरै दर्शकहरुले ‘एक्सन किङ’ निखिल उप्रेती भन्दै लेखे । बिराजको मात्रै प्रशंसा गरेर निखिललाई अपमान गर्न खोजेको भन्दै दर्शकले आलोचना गरेपछि आर्यनले प्रष्टीकरण दिएका हुन् ।

अन्तरवार्तामा आर्यनले के भनेका थिए ?

नेपाली सिने क्षेत्रमा कोही रियल एक्सन हिरो छ भने त्यो मात्र विराज भट्ट हो । उहाँ सबै कुरा प्राकृतिक हुनुपर्छ भन्ने सोच भएको मान्छे हो । बरु रियल हान्ने र रियल फाईट गर्ने तर बनावटीजस्तो नदेखियोस् भन्ने मनसाय भएको मान्छे । नेपाली सिने क्षेत्रमा रियल स्टन्ट गर्ने मान्छे नै उहाँ हो ।

आर्यनको स्पष्टिकरण

आफैंले बोलेका शब्द आफैंलाई भारी परेपछि उनले सञ्जालमार्फत स्पष्टिकरण दिए । उनले स्टाटसमा विराज र निखिल कसैसँग पनि आफ्नो व्यक्तिगत दुश्मनी नभएको र खास कुरा के हो भन्ने नबुझी र नसोची हचुवाको भरमा समाचार र अफवाह फैलाइएको दाबी गरे ।

उनले लेखेका छन्, ‘मैले न त बिराजभन्दा निखिल ठूलो स्टार भनेको छु न त निखिल भन्दा विराज नै । दुवै नेपाली सिनेमाका एक्सन किङ हुन् र दुवैको नेपाली सिनेमा क्षेत्रमा ठूलो योगदान छ । नेपालमा स्टन्ट एक्सन र प्रविधि भित्र्याउने निखिल दाई हो भने विराज दाई रियल एक्सन किङ । त्यति हो । मैले कसैको तुलना गर्न खोजेको थिइनँ र गरेको पनि होइन ।’

आर्यनले निखिलसँगको आफ्नो एक तस्बिर सेयर गर्दै आफूले बोलेका वाक्यबाट कसैलाई मन दुखेको खण्डमा सदैव क्षमा प्रार्थी रहने कुरा स्टाट्समा बताए ।

एक समय चक्लेटी हिरोको नाममा सिने बजार तताएका अभिनेता सिग्देल केही वर्ष सिने क्षेत्रबाट टाढा रहे । लामो ग्यापपछि सिने क्षेत्रमा फर्किएका उनको ‘डिसेम्बर फल्स’ चल्छ या चल्दैन वा भनौँ उनको स्टारडमले फेरि एकचोटी दर्शक हलसम्म तान्छ या तान्दैन भन्ने सबैको मनमा कौतुहलता छ । उनको लागि यो एक मौका पनि हो, आफ्नो स्टारडम कायम गर्ने ।

यदि यो चलचित्रले उनले सोचेजस्तो व्यापार गर्न सकेन भने आर्यनको अस्ताएको स्टारडम उदाउन मुस्किल छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *