कर छुटका लागि पुस मसान्तभित्र निवेदन दिन आन्तरिक राजस्वको आह्वान – Nepal Press

कर छुटका लागि पुस मसान्तभित्र निवेदन दिन आन्तरिक राजस्वको आह्वान

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको बजेटमा घोषणा भएका कर छुटको सुविधा लिन पुस मसान्तभित्र निवेदन दिनुपर्ने बताएको छ ।

आर्थिक ऐन, २०७९ ले ल्याएका छुट तथा सुविधा पाउन पुष मसान्तभित्रै निवेदन दिनुपर्नेछ । सहुलियत तथा सुविधासम्बन्धि जानकारी सम्बन्धित राजस्व कार्यालय र करदातासेवा कार्यालयबाट लिन सकिने छ ।

आर्थिक ऐनको दफा २५ ले करयोग्य कारोवार गरिरहेका र हालसम्म करको दायरामा नआएका व्यक्तिले स्थायी लेखा नम्वर लिएर विगत तीन वर्षको आय विवरण र कर २०७९ पौष मसान्तसम्म बुझाएमा त्यस अघिको कर, शुल्क र व्याज मिन्हा पाउने सुविधा दिएको छ ।

यस्तै, दफा २६ले संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) करदाताहरुले २०७८ चैत्र मसान्त सम्मको मूल्य अभिबृद्धि कर विवरण वा विवरण अनुसारको कर बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, कर र व्याजको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा बाँकी व्याज, थप दस्तुर र जरिवाना छुट पाउने व्यवस्था गरेको छ ।

दफा २७ मा अन्तःशुल्क इजाजतपत्रवालाले २०७८ चैत्र मसान्त सम्मको विवरण वा विवरण अनुसारको अन्तःशुल्क बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्ब शुल्क छुट पाउने व्यवस्था गरेको छ । यी सुविधा पाउँनका लागि तोकिएकै समयमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *