उपसभामुख रास्वपाले पाउने ‘समझदारी’, उपराष्ट्रपतिमा कसको दाबी ? – Nepal Press

उपसभामुख रास्वपाले पाउने ‘समझदारी’, उपराष्ट्रपतिमा कसको दाबी ?

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकारको गठनसँग सातदलीय गठबन्धनभित्र ‘पावर शेयरिङ’ को गृहकार्य अघि बढेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले पावर शेयरिङबारे छलफल गर्न आजै गठवन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले चारवटा पार्टीलाई समेटेर ८ सदस्यीय मन्त्रिमण्डल बनाए पनि ४ मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन । कुन पार्टीले कतिवटा र कुन-कुन मन्त्रालय पाउने भन्ने तय गर्न बाँकी नै छ । यसैगरी, प्रदेशका मुख्यमन्त्रीको बाँडफाँटको विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दैगर्दा गठवन्धनभित्र राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति पनि भएको थियो । तर, उपराष्ट्रपति र उपसभामुख भने टुंगिन बाँकी छ । स्रोतका अनुसार उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गरेको छ र ओली-प्रचण्ड त्यसमा लगभग सहमत छन् ।

रास्वपाले उपराष्ट्रपति र उपसभामुखमध्ये दोस्रो पद रोजेको हो । उपराष्ट्रपति पद भने देशमा आवश्यक नै नरहेको तर्क रास्वपाले गर्दै आएको छ ।

पार्टी स्रोतले भन्यो, ‘उपराष्ट्रपति पदको कुनै निर्दिष्ट जिम्मेवारी नै हुँदैन । त्यसैले त्यो पदमा हाम्रो कुनै रुची छैन । हामीले पार्टीको एजेन्डामा नै उपराष्ट्रपति पद खारेज गर्नुपर्ने वा राष्ट्रिय सभा अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने भनेका छौं ।’

उपसभामुखले भने आवश्यक पर्दा प्रभावकारी भूमिका निर्वाह गर्नसक्ने पार्टीको विश्लेषण छ । जनमुखी विधेयकहरूलाई संसदमा पेश गर्ने काममा उपसभामुखको हात रहने भएकाले सो पदमा पार्टीले रुची देखाएको हो ।

उपसभामुखमा कसलाई पठाउने भन्ने चाहीँ पार्टीले टुंग्याएको छैन । आज बस्ने गठवन्धनको बैठकले औपचारिक निर्णय गरेपछि मात्रै पार्टीमा छलफल गरिने स्रोतको भनाइ छ । पार्टीभित्र कानूनकी विद्यार्थी सोविता गौतम प्रत्यक्ष निर्वाचित सांसद हुन् । कतिपयले उनको नाम लिएका छन् । तर, गौतम भने उपसभामुखभन्दा मन्त्री बन्न बढी इच्छुक छिन् ।

देशको दोस्रो वरियतामा रहने उपराष्ट्रपति पदमा भने अहिलेसम्म कुनै पनि पार्टीले दाबी प्रस्तुत गरेका छैनन् । एमालेले राष्ट्रपति पाउने भएकाले उपराष्ट्रपतिमा उसले दाबी गर्ने छैन । रास्वपाले पनि नलिने भइसकेपछि उपराष्ट्रपति माओवादीकै पोल्टामा पर्न सक्छ । यदि माओवादीले लिन चाहेन भने जसपाले पाउन सक्ने नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर