दामोदर भण्डारी : संघीय निर्वाचनमा ह्याट्रिक, सिंहदरबारमा दोस्रो पाइला – Nepal Press

दामोदर भण्डारी : संघीय निर्वाचनमा ह्याट्रिक, सिंहदरबारमा दोस्रो पाइला

काठमाडाैं । २०७० सालको निर्वाचनमा माओवादीका उम्मेदवार नरेन्द्र कुँवरसँग एमालेका उम्मेदवार दामोदर भण्डारी दोस्रो पटक निर्वाचनमा होमिँदै थिए । अघिल्लो पटक भण्डारीलाई हराएर पहिलो संविधानसभा सदस्य भएका कुँवर दोस्रो पटक पनि भण्डारीलाई नै हराएर दोस्रो संविधानसभा सदस्य बन्ने दाउमा थिए ।

यता भण्डारी भने इतिहासमा कहिल्यै एमाले विजयी नभएको जिल्लामा पार्टीको झन्डा फरफराउने रणनीतिमा थिए । एमाले र माओवादीको चुनावी प्रतिस्पर्धामा कांग्रेस आफ्नो पुरानो विरासत फर्काउने लयमा थियो ।

२०७० को निर्वाचनको नतिजाले बैतडीमा एमालेले इतिहास रच्यो । २०४८ देखि जीतविहीन रहेको बैतडीमा भण्डारीले एमालेको लागि एक क्षेत्र जिताए । पहिलो संविधानसभा सदस्यलाई हराएर पहिलो पटक दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भण्डारीले सोमबार दोस्रो पटक सिंहदरबारको यात्रा तय गरे ।

दोस्रो पटक एमालेबाट मन्त्री नियुक्त भण्डारी बैतडीमा तेस्रो पटक एमालेको तर्फबाट लगातार जित्ने एकमात्र नेता हुन् । २०७० सालका एउटा क्षेत्रमा जीत निकालेको एमालेले त्यसपछि २०७४ र २०६९ मा जिल्ला कब्जा गर्‍यो ।

दोस्रो संविधानसभा सदस्यमा निर्वाचित हुँदा राज्यमन्त्रीको जिम्मेवारी पाएका भण्डारी अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फुल मन्त्रीमा  नियुक्त भएका छन् । अघिल्लो पटक अर्थ राज्यमन्त्री भएका भण्डारीको यस पटक मन्त्रालय भने टुङ्गो लागेको छैन । उनले महत्त्वपूर्ण मन्त्रालय पाउने अपेक्षा गरिएको छ ।

भण्डारीले त्यसपछि जितिरहे…

बैतडीमा २०४८ सालमा विनयध्वज चन्द, कृष्णकुमार जोशी र नरेन्द्र बम विजयी भएका थिए । यी तीनै नेता कांग्रेसका हुन् । २०५१ मा बैतडीलाई दुई क्षेत्रमा विभाजन गरियो । दुवै क्षेत्रबाट राप्रपाका लोकेन्द्रबहादुर चन्द विजयी भए । २०५३ मा क्षेत्र नम्बर १ चन्दले छोड्दा भएको उपनिर्वाचनमा कांग्रेसका केशवबहादुर चन्द विजयी भए ।

२०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीका नरेन्द्र कुँवर २७ हजार १३० मतसहित विजयी हुँदा एमालेका भण्डारीले ९ हजार ५९ मतमात्रै पाएका थिए । अर्को क्षेत्रमा पनि माओवादीकै रेणु चन्द विजयी भइन् ।

त्यसको ६ वर्षपछि भएको दोस्रो संविधानसभा निर्वाचनमा साढे ११ हजार बढी ल्याएर भण्डारीले परिणाम उल्ट्याए । निर्वाचन क्षेत्र नम्बर १ बाट भण्डारीसँगै कांग्रेसका लोकराज अवस्थी प्रतिस्पर्धामा थिए । अवस्थीले १० हजार ३ सय मत पाए ।

२०७४ सालको निर्वाचनमा उनलाई जीत निकाल्न त्यति कठिन भइन् । पहिलो प्रतिस्पर्धामा तेब्बर मतले पराजित गरेका विजयसुन्दर संलग्न पार्टी माओवादी केन्द्रसँगको तालमेलमा उनले दोस्रो जीत निकाले । देश संघीय संरचनामा गएपछि एकमात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा भण्डारीले त्यति वेला साढे ३९ हजार मत पाएका थिए । कांग्रेसका उम्मेदवारसँग भण्डारीको मतान्तर ११ हजार २३३ थियो ।

भण्डारीको ह्याट्रिक जीत निकै गौरवमय छ । पाँच दलीय गठबन्धनलाई बैतडीमा पराजितमात्रै गरेनन्, उनी सुदूरपश्चिमबाट एमालेका लागि संघीय संसदमा प्रतिनिधित्व गराउने दोस्रो नेता बने । १६ संघीय निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा एमालेले दुइटामात्रै क्षेत्र जित्न सक्यो । भण्डारीले यो पटक विजयसुन्दरलाई पराजित गरे । यतिमात्रै होइन जुन पार्टीको उम्मेदवारलाई पराजित गरे सोही पार्टीको नेतृत्वमा सरकारमा सहभागी पनि भए ।

को हुन् भण्डारी ?

बैतडीको पाटन नगरपालिका-६ मा बुवा उदयसिंह र आमा कमलाका सुपुत्र भण्डारी २०३० साल कात्तिक २० गते जन्मिएका थिए । भण्डारीले १६ वर्षको उमेरबाट राजनीति सुरु गरेका हुन् ।

२०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा होमिएका भण्डारी २०४८ सालमा अनेरास्ववियू बैतडीको जिल्ला कमिटी अध्यक्ष हुँदै २०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बने ।

२०५४ सालमा जिल्ला कमिटी उपसचिव भएका भण्डारी २०५६ देखि २०६४ सम्म बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै एमाले बैतडीका अध्यक्ष बने । २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भण्डारी अहिले एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीमा छन् ।

अघिल्लो पटक सुदूरपश्चिममा ११ क्षेत्र जितेको एमाले अहिले २ क्षेत्रमा सीमित भएको छ । भण्डारीको काँधमा पार्टी बलियो बनाउनेमात्रै होइन सरकार दरिलो बनाउने जिम्मेवारी पनि आएको छ । पार्टीको हिसाबले बैतडी, सुदूरपश्चिम हुँदै मुलुकको समृद्धिमा खटिनुपर्ने जिम्मेवारी छ ।

उनलाई नजिकबाट नियालिरहेका निवर्तमान प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य लीलाधर भट्ट भण्डारीमा काम गर्ने योजना र दृढ इच्क्षा शक्ति भएको बताउँछन् ।

पाटन विमानस्थल, पाटन-पञ्चेश्वर सडक, महाकाली कोरिडोरलगायत शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइको क्षेत्रमा काम गरेका भण्डारी अहिले बैतडीलाई उज्यालो बनाउन लागिरहेका छन् ।

प्रतिक्रिया

One thought on “दामोदर भण्डारी : संघीय निर्वाचनमा ह्याट्रिक, सिंहदरबारमा दोस्रो पाइला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर