सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको कार्यालय व्यवस्थापन गरिँदै – Nepal Press

सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको कार्यालय व्यवस्थापन गरिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सचिवालय प्रदेश सभामा दलको कार्यालय व्यवस्थामा जुटेको छ । आगामी १५ गते नव निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भइरहँदा पनि अझै दलहरूलाई कहाँ कार्यालय दिने भन्ने समस्या छ ।

यसअघि दलको कार्यालय रहेका भवनहरू धनगढी उपमहानगरले सुरु गरेका सडक विस्तारमा क्रममा भत्काउनु परेपछि नयाँ स्थानमा दलको कार्यालय राख्नु पर्ने बाध्यता आइलागेको हो । अहिले कोठा अभावका कारण यस अघि विषयगत समितिका कक्षहरूलाई दलको कार्यालय बनाउने गरी तयारी प्रदेश सभा सचिवालयले गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस १९ सांसदसहित सबैभन्दा ठुलो दल बनेको छ । त्यस्तै, माओवादी केन्द्र ११ सांसदसहित दोस्रो, माओवादी १० सांसदसहित तेस्रो, नागरिक उन्मुक्ति ७ सांसदसहित चौथौँ र नेकपा एकीकृत समाजवादी ४ सांसदसहित पाँचौं शक्तिका रूपमा प्रदेश सभामा रहेका छन् । यहाँ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

यसअघि एमाले, कांग्रेस माओवादी, नेकपा एकीकृत समाजवादी लोसपा र राजपाका लागि प्रदेश सभामा छुट्टा छुट्दै दलका कार्यालय थिए । अहिले लोसपा र राजपा आउट हुँदा नागरिक उन्मुक्ति र राप्रपा इन भएका छन् ।

एउटा मात्रै सांसद भएको राप्रपाका लागि दलको कार्यालय दिने कि नदिने भन्नेमा प्रदेश सभा सचिवालय अनिर्णीत बनेको छ । त्यस बाहेकका पाँच दलका लागि केही पुरानै दलका कार्यालय र केही विषयगत समितिका कार्यालयमा व्यवस्थापन गर्न लागिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।

विषयगत समिति तयार हुन केही समय लाग्ने भएको हुँदा त्यतिन्जेल त्यही कोठाबाट केही दलले कार्यालय सञ्चालन गर्ने छन् त्यसपछि छुट्टै कार्यालय तयार गरिने सचिव बोगटीले जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर