गठबन्धन बैठकअघि बालुवाटार र खुमलटारमा आन्तरिक छलफलमा देउवा र प्रचण्ड – Nepal Press

गठबन्धन बैठकअघि बालुवाटार र खुमलटारमा आन्तरिक छलफलमा देउवा र प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीको नाम पेश गर्न शीतल निवासले दिएको समय सीमा घर्किँदै गर्दा सत्तागठबन्धनका प्रमुख दलहरू कांग्रेस र माओवादीको शीर्ष नेतृत्व आन्तरिक छलफलमा जुटेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीका शीर्ष नेतासँग बालुवाटारमा परामर्शमा छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पनि अहिले शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ । सत्तागठबन्धनको बैठक ९ बजे बस्ने तय भएपनि दुई पार्टीको आन्तरिक छलफलका कारण ढिलो भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले शीर्ष नेताहरूबीच छलफल चलिरहेको बताए । त्यस्तै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि नेताहरूबीच भेटघाट जारी रहेको नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

गठबन्धनको बैठकमा प्रस्तुत हुने विषयमा रणनीति बनाउन दुई दलका शीर्ष नेतृत्व आन्तरिक छलफल गरिरहेको बताइएको छ ।

गठबन्धनबाट आलोपालोमा को पहिले प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री दाबी गरिरहेका छन् । कांग्रेसमा ठूलो दलको हैसियतले माओवादीलाई प्रधानमन्त्री नछाड्न तीब्र दबाब छ । शनिबार बालुवाटारमा भेला भएका सांसदहरूले देउवालाई प्रधानमन्त्री नछाड्न भनेका थिए ।

पहिला प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने माओवादीले देउवालाई संकेत दिइसकेको छ । देउवाले मिलाउने भन्दै आश्वासन दिएका छन् ।

तर, अहिलेसम्मको अवस्था हेर्दा गठबन्धनमा सहमतिको सम्भावना देखिइसकेको छैन ।

प्रतिक्रिया

One thought on “गठबन्धन बैठकअघि बालुवाटार र खुमलटारमा आन्तरिक छलफलमा देउवा र प्रचण्ड

  1. प्रचण्ड र माधव त ओलिले भनेजस्तै विना पैसाका काँग्रेसका खेताला हुन् ।काममा लगाउने अनि एक छाक खान दिएर घर पठाईदिने । अब प्रचण्डले पैसा पनि मागे पछि त कुरा बिग्रियो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर