प्रधानमन्त्री र पार्टीको आग्रह गरेपछि राजीनामा नदिएको हो : पर्यटनमन्त्री श्रेष्ठ – Nepal Press

प्रधानमन्त्री र पार्टीको आग्रह गरेपछि राजीनामा नदिएको हो : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पार्टीको आग्रहपछि मात्रै आफूले राजीनामा नदिएको बताएका छन् । नयाँ सरकार गठन हुदैँ गर्दा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

निर्वाचन लडेर पराजित हुदाँ पनि मन्त्रालयकै जिम्मेवारीमा बसिरहेको भन्दै टिप्पणी भइरहेका बेला पर्यटनमन्त्री श्रेष्ठले प्रधानमन्त्री र आफ्नो पार्टीले नयाँ सरकार गठन हुन्जेलसम्मका लागि बसिरहनुपर्ने बताएका कारण जिम्मेवारीमा रहेको बताए ।

उनले भने, ‘मैले निर्वाचनमा पराजित हुने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिन लागेको जानकारी गराए । उहाँले हामी चुनावी सरकार भएकाले चुनाव पुर्ण रुपमा सम्पन्न गरेर अब बन्ने सरकारलाई हस्तान्तरण गरेर जानुपर्छ भन्नुभयो । हामी पार्टीका अध्यक्षलाई पनि भनेको थिए । पार्टी अध्यक्ष र नेताहरुले पनि त्यसो गर्नुहुदैँन भन्नुभयो । त्यसैले जिम्मेवारीमा बसेको हो ।’

निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री पदमा नै बसिरहनु नैतिकताको प्रश्न भए पनि यो बहसको विषय भएको बताए । नेपालको संविधानले नै निर्वाचनमा पराजित हुने वित्तिकै सरकार जोड्नुपर्ने नभएकाले संवैधानिक व्यवस्थाअनुसार नै मन्त्रालयको जिम्मेवारीमा रहेको बताए ।

उनले भने, ‘निर्वाचनमा पराजित भएर पनि मन्त्री पदमा नै बसिरहनु उपयुक्त कि अनुपयुक्त भन्ने बहसको विषय हो । तर, नेपालको संविधानले नै निर्वाचनमा पराजित भएको व्यक्ति तत्काल सरकारबाट बाहिरिने भनेको छैन । प्रधानमन्त्रीले चाहेको हकमा ६ महिनासमेत थप मन्त्रीको जिम्मेवारीमा बस्न सक्छ । र हामी चुनावी सरकार पनि भएकाले पुर्ण जिम्मेवारी पुरा गरेर नयाँ सरकार गठन गरेर मात्र बाहिरिने हो ।’

पर्यटनमन्त्री श्रेष्ठ भर्खरै सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजमान श्रेष्ठसँग पराजित भएका थिए ।

श्रेष्ठसँगै प्रतिनिधि सभा सदस्यमा गृहमन्त्री बालकृष्ण खाण, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका थिए ।

 

प्रतिक्रिया

One thought on “प्रधानमन्त्री र पार्टीको आग्रह गरेपछि राजीनामा नदिएको हो : पर्यटनमन्त्री श्रेष्ठ

  1. चरम अनैतिकता । जनताले असक्षम भनेर हराएपछि पनि जुको टाँसिए झै टाँसिनेले अरूलाई नैतिकताको पाठ सिकाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर