मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनीमा हुने – Nepal Press

मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनीमा हुने

बुटवल । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन भन्दै सम्मेलन गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ । प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।

२०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको करिब २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको छ ।

मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यही मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ । अन्य मन्त्रालयहरु अब छिट्टै नै सार्ने तयारी थालिएको छ । यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरुको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको मुख्यमन्त्री केसीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाका अनुसार यही पुस १५ गते मुख्यमन्त्री सम्मेलन गर्ने करिब टुंगो लागिसकेको छ । लुम्बिनीमा आउने मुख्यमन्त्रीहरुलाई यहाँको स्थायी राजधानीको बारेमा समेत लुम्बिनी प्रदेश सरकारले ब्रिफिङ गर्नेछ ।

नयाँ सरकार बन्नै लागेका वेला कामचलाउ भैसकेका मुख्यमन्त्रीहरुले सम्मेलन गर्न लागेका हुन् । गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिएर आइसकेका छन् । दुवै तहमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ । यो अवस्थामा गत ५ वर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न खोजिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक ममिलामन्त्री तिलकराम शर्माले जानकारी दिए ।

मुख्यमन्त्री कुलप्रसाद केसीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेसका लालबाबु राउत, बागमतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिमका सरकार प्रमुख त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुन देउखुरी आउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर