आठौं प्रस्तुती दिन नेपथ्य बुटवलमा – Nepal Press

आठौं प्रस्तुती दिन नेपथ्य बुटवलमा

रुपन्देही ।शनिबार बुटवलमा गरिने कार्यक्रमका लागि नेपथ्य टोली बुटवलमा आएको छ । मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको हो ।

पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गरेका थिए । त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको उपस्थिति थियो ।

उक्त अवसरमा नगरप्रमुख पाण्डेले नेपथ्य ब्याण्ड मनोरञ्जनका हिसाबले मात्र नभइ नेपाली भाषा र संस्कृतिको लागि एक योद्धाका रुपमा पनि चिनिने भएकाले बुटवलमा स्वागत गर्नपाउँदा खुशी लागेको विचार व्यक्त गरेका थिए ।

यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा कन्सर्ट प्रस्तुत गरिसकेको छ ।
नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिना दिन लामो नेपाल भ्रमण अन्तर्गत बुटवलमा आठौं प्रस्तुती दिन लागेको हो ।

कार्यक्रम पुस ९ गते शनिबार बेलुकी ४ बजे स्थानीय ‘रामनगर खेलमैदानमा हुनेछ । बुटवलमा यसअघि नेपथ्य ७ पटक आफ्नो प्रस्तुती लिएर उपस्थित भइसकेको छ । त्यसमध्ये ‘शान्तिको लागि शिक्षा’ अभियान लिएरै तीनपटक आएको थियो । अघिल्लोपटक सन् २०१८ मा यहाँको रंगशालामा प्रस्तुती दिनका लागि ब्याण्ड आएको थियो ।

संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुक भरको यात्रा गर्नलागेको हो । यस क्रममा नेपालको पुर्वदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।

शनिबारको प्रस्तुतीका लागि रामनगर मैदानमा मञ्च बनाउने काम धमाधम सुरुभइसकेको छ । शुक्रबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ । मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।

‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले भनिन्, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’

मानवसेवा आश्रमले शुक्रबार दिउँसो पौने दुई बजे तिलोत्तमा नगरपालिकास्थित मानवसेवा आश्रमको भवन निर्माण स्थलमा नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गर्ने छ ।

यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ । शुक्रबार टोलीले बुटवलको सीमानामा रहेको पाल्पाको नुवाकोटगढीको भ्रमण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *