लुम्बिनी : सरकार गठनमा केन्द्रको मुख ताक्दै ठूला पार्टी, दलको नेता बन्न दौडधुप – Nepal Press

लुम्बिनी : सरकार गठनमा केन्द्रको मुख ताक्दै ठूला पार्टी, दलको नेता बन्न दौडधुप

रुपन्देही । लुम्बिनी प्रदेशमा कुनै दलको स्पष्ट बहुमत नभएपछि केन्द्रमा हुने गठबन्धन कुरेर दलहरू बसेका छन् ।

केन्द्रमा गठबन्धनको छिनोफानो नहुँदा प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू अन्योलमा देखिएका हुन् । ठूलो दल नेकपा एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादीभित्रै संसदीय दलको नेतृत्वको टुंगो लगाउन अहिले मुख्य नेताह केन्द्रमा धाइरहेका छन् ।

प्रदेशस्तरका नेताहरू केन्द्रको निर्देशन कुरेर बसिरहेका छन् भने अहिलेसम्म दलहरूले संसदीय दलको नेताको टुंगो लाग्न सकेको छैन । एमाले र नेपाली कांग्रेसमा दलको नेताको लागि ४-४ जना आकांक्षी छन् भने माओवादी केन्द्रमा पनि टुंगो लागेको छैन ।

पहिलो दल एमालेमा लीला गिरी, चेतनारायण आचार्य, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठले संसदीय दलको नेतामा दाबी गरेका छन् । कांग्रेसमा डिल्ली चौधरी, अब्दुल रज्जाक, वीरबहादुर राना र राजु खनाल आकांक्षी छन् ।

माओवादीमा जोगबहादुर महरा संसदीय दलको नेता निश्चितजस्तै भए पनि सो पार्टीबाट विद्रोह गरेर जितेका ३ स्वतन्त्र सांसदलाई भित्र्याउन फकाइरहेका छन् ।

अहिलेसम्मको तयारीमा सत्तारुढ गठबन्धन नै सरकार गठनमा अग्रसर भएका छन् । तर, बहुमतका लागि ३ सांसद पुग्दैन । गठबन्धन नभत्किँदासम्म एमाले पर्ख र हेरको अवस्थामा छ ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक पर्छ । प्रत्यक्ष र समानुपातिकतर्फ ठूलो दल बनेको एमालेका २९ सांसद छन् भने चुनावमा एमालेसँग सहकार्य गरेको राप्रपासँग ४ र जसपासँग ३ सांसद गरी जम्मा ३६ सांसद रहेका छन् । सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसका २७ र माओवादी केन्द्रका ९ सांसद छन् । जनमोर्चा र नेकपा एससँग एक एक गरी दुई सांसद र लोसपासँग ३ सांसद गरी ४१ सांसद पुग्ने अवस्था छ । ३ सांसद रहेको जनमत पार्टी र ३ सांसद रहेको नागरिक उन्मुक्तिलाई मनाउन सत्तारुढ दलले छलफल चलाएपनि माथिको निर्णय कुरेर बसेका छन् ।

कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार बन्ने गरी अनौपचारिक छलफल भएपनि केन्द्रबाट स्पष्ट कुरा नआएकाले कुरेर बसेको बताए । माओवादी केन्द्रका नेता सुदर्शन बराल कसलाई साथ लिएर अगाडि जाने सन्दर्भमा अनौपचारिक छलफल भए पनि केन्द्रको निर्णयमा भर पर्ने सुनाउँछन् । यहाँ गठबन्धनबाट कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्री दाबी गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाकले पनि गठबन्धनको सरकार बन्ने अवस्थामा आफूहरूले मुख्यमन्त्री दाबी गर्ने बताए ।

‘विगतमा माओवादीलाई मुख्यमन्त्री छाडेका थियौं, यसपटक हाम्रो दाबी स्वभाविक रहन्छ’, उनले भने ।

अहिले प्रमुख प्रतिपक्षमा रहेको एमालेले भने सरकार गठनका लागि भन्दा पनि संसदीय दलको नेता कसलाई बनाउने भन्नेमै बढी चासो दिएको छ । एमाले नेता तथा पूर्वमन्त्री चेतनारायण आचार्यले एमाले पहिलो दल भएपनि पहिलो चरणमा एमालेसँग बहुमत नभएकाले सरकार गठनमा ध्यान नदिएको बताए ।

केन्द्रको राजनीतिक समीकरण आफूहरू अनुकूल भए आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने पूर्वमन्त्री तथा सांसद लीला गिरी बताउँछन् ।

‘यदि अवस्था हाम्रो अनुकूल भयो भने हाम्रो नेतृत्वमा अन्य दललाई मिलाएर सरकार बनाउने प्रयास हुनेछ ’, उनले भने ।

स्वतन्त्रको साथ लिएर गठबन्धनको सरकार बन्ने सम्भावना प्रबल छ । जनमत पार्टी पनि सरकारमा जानसक्ने बताउँदै आएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले केन्द्रीय नीतिअनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर