कांग्रेसको अंकगणित देउवाकै पक्षमा, गगनले ‘बिजगणित’ मिलाए के हाेला हिसाब ? (सूचीसहित) – Nepal Press

कांग्रेसको अंकगणित देउवाकै पक्षमा, गगनले ‘बिजगणित’ मिलाए के हाेला हिसाब ? (सूचीसहित)

काठमाडौं । शेखर कोइरालाले गगन थापालाई संसदीय चुनावमा समर्थन गरेसँगै कांग्रेको आन्तरिक राजनीतिमा नयाँ तरंग आएको छ । के यो तरंगले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दौडबाट बाहिर हुत्याउला भनेर ठोकुवा गर्न सकिने अवस्था चाहीँ छैन ।

पार्टी संसदीय दलको चुनावका लागि देउवा र थापाले मात्र मनोनयन दर्ता गरेकाले प्रतिस्पर्धा रोचक बनेको छ । इतर समूहमा कुरा नमिल्दासम्म देउवा सहज जितको आशामा थिए । तर, शेखरले फराकिलो छाती बनाउँदै गगनलाई अघि सार्न तयार भएपछि पासा पल्टिन सक्ने ठानेर सामाजिक सञ्जालमा समेत उत्साह देखिएको छ ।

अंकगणित हेर्ने हो भने अझै पनि देउवा नै बलिया छन् । तर, गोप्य चुनाव भएकाले अंकगणितले मात्रै काम नगर्न सक्छ । ‘बिजगणित’ मिलाउन सकेको खण्डमा थापाले देउवालाई स्तब्ध पार्न असम्भव छैन । हालैको कतार विश्वकपमा साउदी अरबले उपाधि दाबेदार अर्जेन्टिनालाई हराएजस्तै, भर्खर भएको आम निर्वाचनमा डा. तोसिमा कार्कीले पम्फा भुसाललाई पाखा लगाएजस्तै गगनले देउवालाई चक्मा देलान् त ?

कांग्रेसले चुनावमा प्रत्यक्षमा ५७ सीट जितेको छ । समानुपातिकमा ३२ गरी कुल सांसद ८९ छन् । हामीले यसअघि हिसाब निकाल्दा प्रत्यक्षतर्फ संस्थापनबाट २९ जना र शेखर-गगन समूहबाट १८ जना जितेर आएका छन् । यस्तै, रामचन्द्र-शशांक समूहबाट ६ जना र प्रकाशमान समूहबाट ४ जना विजयी भए । अहिले रामचन्द्र-शशांक समूहले देउवालाई समर्थन गरेको छ । प्रकाशमान कता ढल्किन्छन् भन्ने खुलेको छैन । यद्यपि, उनले पनि देउवालाई समर्थन गर्ने सम्भावना प्रबल छ । यसका आधारमा हेर्दा देउवासँग प्रत्यक्षमै ३९ जना छन् ।

समानुपातिकतर्फ पनि देउवाको वर्चश्व छ । शेखर-गगन गुटबाट १० जना समानुपातिक सांसद बनेका छन् ।

महाधिवशेनको पक्षधरताका आधारमा सांसदहरुको पक्षधरता छुट्याइए पनि संसदीय दलको गोप्य मतदानमा देउवा पक्ष भनेर चिनिएका करिब आधा दर्जन सांसदले गगन थापालाई मत दिने निश्चित देखिएको सोतले जनाएको छ । त्यसो त प्रकाशमान पक्षका विश्वप्रकाश गगनतिर लागिसकेका छन् भने राजेन्द्र केसी र सन्तोष चालिसे खुलेका छैनन् । शशांक पक्षका दिपक गिरी गगनको पक्षमा खुलेका छन् भने विष्णु कार्की मौन छन् ।

सांसदहरुको मोलतोल र मन्त्रीको आश्वासनले गणितलाई तलमाथि पार्न सक्ने अनुमान छ । यद्यपी संस्थापन इतर पक्षबाट जसरी सर्वसम्मत उम्मेदवार बनेर गगन खडा भए र प्रदिप पौडेलसमेत उनको पक्षमा उभिन बाध्य बने त्यसले बुधवार अन्तिम नतिजा आउँदासम्म संसदीय दलको समिकरणमा फेरबदल भने देखाउनेछ ।

कांग्रेस संसदीय दलकाे अंकगणित

प्रत्यक्ष र समानुपातिक गरी समग्रमा कोइराला-गगन खेमाबाट ३१ जना निर्वाचित भएका छन् । उनलाई संसदीय दलमा बहुमत पुर्याउन १४ सांसद अपुग देखिन्छ । त्यसैले एकातर्फ आफ्नो गुटलाई ‘इक्ट्याक्ट’ राख्नुपर्ने र अर्कोतर्फ संस्थापन समूहबाट उल्लेख्य संख्यामा सांसदहरुको भोट तान्नुपर्ने दोहोरो चुनौतीमा गगन छन् ।

पार्टीबाहिर भने गगनको पक्षमा जबरजस्त माहोल छ । सामाजिक सञ्जालमा अधिकांशले परिवर्तनको आभास गराउनका निम्ति गगन थापालाई कांग्रेसले अवसर दिनुपर्ने टिप्पणी गरिररहेका छन् । बाहिरको यो माहोलले कांग्रेस सांसदहरुलाई पक्कै केही न केही प्रभाव पार्न सक्छ ।

महाधिवेशनमा गगन थापासँग प्रतिस्पर्धामा उत्रिएका महामन्त्री विश्वप्रकाश शर्मा अहिले गगनलाई प्रधानमन्त्री बनाउन कस्सिएका छन् । देउवाको प्यानलबाट महामन्त्रीमै लडेका प्रदीप पौडेल पनि आज गगनको पक्षमा खुले । अन्य केही सांसदहरु पनि गुटभन्दा माथि उठेर गगनलाई भोट हाल्ने मनस्थितिमा रहेका छन् । पार्टीको ‘बिजगणित’ भनेको यही नै हो ।

गोप्य मतदान भएकाले सांसदहरूले गुट बिर्सेर विवेकको भोट हाल्नेमा गगन थापा आशावादी छन् । यदि साँच्चै त्यस्तो भयो भने कांग्रेसभित्र मात्र होइन, देशको राष्ट्रिय राजनीतिमा नै बिग ट्विस्ट आउन सक्छन् । देशले एउटा सशक्त युवा नेतालाई नयाँ प्रधानमन्त्रीको रुपमा पाउने ढोका खुल्नेछ ।

 

 

प्रतिक्रिया

One thought on “कांग्रेसको अंकगणित देउवाकै पक्षमा, गगनले ‘बिजगणित’ मिलाए के हाेला हिसाब ? (सूचीसहित)

  1. ….. जान्न चाहान्छन भन्ने टिभी सम्वाद चलाउने एकजना पत्रकारले लिएको हरेक अन्तर्वार्तामा उनलाई दुईवटा चिन्ताले सताएको स्पष्ट हुन्छ । एक, कतै एमालेले सरकार बनाईहाल्छ कि । वामपन्थीहरू फेरि मिलिहाल्छन कि । देउवा नभएर गगनले पो उछिट्याउँछन कि । दुई, तपाईहरू किन भारतक‍ो मात्र विरोध गर्नुहुन्छ चीनको किन गर्नुहुन्न ? चीनले पनि सिमा मिचेको छ, नाकाबन्दी लगाएको छ ? यसबाट प्रष्ट के बुझिन्छ भने तिनलाई लैनचोैरले प्रयोग गरिरहेको छ । उनी त्याहाँबाट महिनावारी बुझ्दछन् । उनकै संवादमा आउने एकजना कर्ण थरका कथित विश्लेषक नामका शुद्द दक्षिणको नोकरको कुरा सुन्नुभयो भने थाहा हुन्छ कि उनी त दक्षिणले नेपालका राष्ट्रवादी नेता र जनतालाई, दक्षिणको विरोध गर्नेलाई गाली गर्न, धम्की दिन खटाएको एजेण्ट हो । यी एजेण्ट र दलाल पत्रकार चुनावमा एमालेले बहुमत नल्याएकोमा खुशी रहेछन् । चुच्चे नक्सा निकालेकोमा, नाकाबन्दीको विरोध गरेकोमा आक्रोशित रहेछन् । अहिले त कतै अब पनि देउवा प्रधानमन्त्री हुँदैनन् कि भन्नेमा चिन्तित रहेछन् । यसबाट के प्रमाणित हुन्छ भने दक्षिणले देउवा चाहेको छ किनकी देउवा मार्फत उसले नेपालमा चाहेक‍ो काम गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर