अनौपचारिक श्रमिक र वैदेशिक रोजगारीमा रहेका व्यक्ति पनि सामाजिक सुरक्षा योजनामा समेटिए (कार्यविधिसहित) – Nepal Press

अनौपचारिक श्रमिक र वैदेशिक रोजगारीमा रहेका व्यक्ति पनि सामाजिक सुरक्षा योजनामा समेटिए (कार्यविधिसहित)

काठमाडौं । २०८० साल बैशाख १ गतेदेखि अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका व्यक्ति पनि सामाजिक सुरक्षा योजनामा आवद्ध हुन पाउने भएका छन् ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार क्षेत्रका श्रमिक आवद्ध हुने पाउने भएका हुन् । यस्तै वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार योजनामा आवद्ध हुन पाउनेछन् ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार अधिकांश सुविधा औपचारिक क्षेत्रमा रहेका श्रमिकले जस्तै पाउनेछन् । अनौपचारिक क्षेत्र र स्वरोजगारमा संलग्न योगदानकर्ताका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन हुनेछ ।

अनौपचारिक क्षेत्रमा श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र सरकारबाट ९.३० प्रतिशत रकम थपेर कोषमा २०.३७ प्रतिशत रकम जम्मा गरिनेछ । तर, सरकारले जम्मा गर्नुपर्ने रकमभन्दा कम जम्मा गरिने वा त्यस्तो रकम जम्मा नगरिदिने अवस्थामा आफैंले योगदान गर्ने गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ ।

जम्मा भएको रकममध्ये १०.३७ प्रतिशत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता र आश्रित परिवार सुरक्षा योजना र १० प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुनेछ ।

स्वरोजगारमा रहेका व्यक्तिले न्यूनतम आधारभूत पारिश्रमिक र यसको अधिकतम ३ गुणा ३१ प्रतिशत रकम योगदान गर्नुपर्नेछ । त्यस्तो रकममध्येबाट कोषले एक प्रतिशत औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४० प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.३३ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा हुनेछ ।

सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्न अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना भएको मितिअघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ । तर, वृद्ध अवस्था सुरक्षा योजनाको सुविधा प्राप्त गर्न भने योगदानकर्ता वैदेशिक रोजगारी वा विदेशको स्वरोजगार अन्त्य गरी नेपाल फर्किएको हुनुपर्नेछ ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत औषधोपचार तथा स्वास्थ्य सुरक्षा योजना र योगदानकर्ता वा योगदानकर्ताको पत्नीलाई मातृत्व सुरक्षा योजना सञ्चालन गरिनेछ । अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका योगदानकर्तालाई अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा औषधोपचार गर्दा लागेको खर्च स्वास्थ्य सुविधाबापत प्रदान गरिनेछ । त्यस्तो रकम सम्बन्धित अस्पताललाई सीधै भुक्तानी गरिनेछ । योगदानकर्ताको पत्नी तथा नवजात शिशुको उपचार खर्चसमेत स्वास्थ्य सुविधाबापत प्रदान गरिनेछ ।

अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थाबाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम वार्षिक २५ हजार रुपैयाँसम्म सुविधा दिइनेछ । महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा शिशु स्याहारका लागि प्रतिशिशु एक महिनाको न्यूनतम आधारतभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ ।

श्रम स्वीकृत लिँदा नै सामाजिक सुरक्षा योजनामा आवद्ध हुनुपर्ने

वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम स्वीकृति लिने क्रममै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा अनिवार्य आवद्ध हुने व्यवस्था हुने भएको छ । यसमा आवद्धले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिनेछ । वैदेशिक रोजगारमा रहेको श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्ति ऐन, नियमावली तथा यस कार्यविधिबमोजिम कोषमा सूचीकृत भई कोषमा योगदान गरेर योजनामा सहभागी हुन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत योगदान गर्नुपर्नेछ । यस्तो योगदान रकम कोषले विभिन्न योजनामा बाँडफाँट गर्नेछ । जसमा १३.८५ प्रतिशत वृद्ध अवस्था सुरक्षा योजना र ७.४८ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।

वैदेशिक रोजगारमा रहेका श्रमिक वा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योजनामा औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेका न्यूनतम आधारभूत पारिश्रमिकको बढीमा ३ गुणासम्म योगदान गर्न सक्नेछन् ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९

 

वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *