कागजी उमेर नमान्ने महिन्द्र रायको स्वघोषणा, जेष्ठ सदस्यका रुपमा पशुपति शमशेरले सपथ गराउने – Nepal Press

कागजी उमेर नमान्ने महिन्द्र रायको स्वघोषणा, जेष्ठ सदस्यका रुपमा पशुपति शमशेरले सपथ गराउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सबैभन्दा जेष्ठ सदस्य महिन्द्रराय यादवले सांसदलाई सपथ गराउन नमानेपछि दोस्रोमा सबैभन्दा जेष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद पशुपती शमशेर जबराले सपथ गराउने भएका छन् ।

नेपाली नागरिकताको प्रमाणपत्र भिडाउदाँ यादवको उमेर ८५ वर्ष देखिए पनि उनले आफ्नो उमेर कम भएको बताउदैँ सपथ नगराउने भनेपछि संघीय संसद सचिवालयले दोस्रोमा सबैभन्दा जेष्ठ सदस्यको खोजी गर्दा जबराको नाम फेला परेको हो ।

यादवपछि प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदमध्ये सवैभन्दा जेष्ठ सांसद राप्रपाका पशुपति शमशेर जबरा भएको सचिवालयले ठहर गरेपछि उनैमार्फत सपथ गराउने तयारी भएको संघीय संसद सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘सोमबार हामीले जेष्ठ सदस्य सबैको नागरिकता भिडायौ । ८१ वर्ष १० दिन पुरा गरेर पशुपति शमशेर राणा सबैभन्दा जेष्ठ देखिनुभयो । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि अन्य सांसदलाई पुस ७ गते उहाँमार्फत नै सपथ गराउने संघीय संसद सचिवालयले ठहर गरेको छ ।’

उनले भने, ‘सचिवालयले नागरिकता भिडाउदाँ सुरुमा महिन्द्रराय यादव सबैभन्दा जेष्ठ सदस्य भेटिनुभयो । उहाँलाई हामीले सम्पर्क गर्यौ । उहाँले आफ्नो बास्तविक उमेर कम भएकाले अघिल्लो निर्वाचनमा पनि सपथ नगराएको र यस वर्ष पनि नगराउने भनेपछि हामीले दोस्रो जेष्ठ सदस्यको खोजी गर्दा जवरा भेटिनुभयो ।’ जबराको नाम ज्येष्ठ सांसदका रुपमा राष्ट्रपति समक्ष सपथका लागि सिफारिस गरिएको धमलाले बताए ।

यसअघि महेन्द्रराय यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जवरामध्ये को ज्येष्ठ सदस्य भन्ने बहस भइरहेको थियो । यो विवाद भएपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्यको टुंगो लगाएको हो । यद्यपी निर्वाचन आयोगको रेकर्ड अनुसार चित्रबहादुर केसीको उमेर ८० वर्ष देखिए पनि उनले आफु ८३ वर्षको दाबी गर्दै आएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचित २७५ जना सांसदको सूचीमा सबैभन्दा बढी महिन्द्रराय यादवको उमेर ८५ वर्ष छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित पशुपति शमशेर जबरा, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद महन्त ठाकुर र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको उमेर बराबर ८० वर्ष रहेको छ । महिना र दिनले मात्रै राणा बढी देखिएका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर