मेस्सीलाई ‘मनपर्ने’ चे ग्वोभारा : यस्ता छन् यी दुई विश्व व्यक्तित्व जोड्ने प्रसङ्गहरू – Nepal Press

मेस्सीलाई ‘मनपर्ने’ चे ग्वोभारा : यस्ता छन् यी दुई विश्व व्यक्तित्व जोड्ने प्रसङ्गहरू

इटहरी । सन् २०२० को कोभिड–१९ आतङ्कको बिचमा स्पेनी क्लब बार्सिलोनामा रहेका महान् खेलाडी लियोनल मेस्सीले एक अकल्पनीय प्रस्ताव गरे । उनले आफ्नो तलबको ७० प्रतिशत रकम नलिने घोषणा गरे । त्यो नलिएको रकम तलब नपाउने तल्ला तहका कर्मचारीहरूलाई दिनुपर्ने उनले घोषणा गरे । उक्त घोषणापछि आम मान्छेका समस्या बुझ्ने भनेर मेस्सीको व्यापक तारिफ भयो । खासगरी युरोपेली मिडियाहरूले उनलाई ज्यादै तारिफ गरेर समाचारहरू बनाए । सबैभन्दा रोचक समाचार चैँ फ्रान्सको अखबार ‘एल एकीपे’ले हेडलाइन बनायो– बार्साका चे ।

सन २०२० मार्च ३१ का दिन आएको उक्त हेडलाइनले लियोनल मेस्सीलाई ‘बार्सिलोनाका चे’ भनेर व्याख्या गरिएको थियो ।

आफूले पाउने ७० प्रतिशत तलब कटाएर तलब नहुने कर्मचारीहरूलाई दिन त्याग गरेकोले मेस्सीको त्यस्तो प्रशंसा भएको थियो । विश्वका मजदुरहरूका चर्चित कम्युनिस्ट नेता चे ग्वेभारा जस्तै काम गरेको भन्दै त्यस्तो हेडलाइन आएको थियो ।

विश्व कम्युनिस्ट आन्दोलनमा लाग्नेहरूले धेरै मानेका चे ग्वेभारा र सबैले मानेका महान खेलाडी लियोनल मेस्सी एकै देशका हुन् । उनीहरूको देश मात्रै हैन सहर पनि एकै हो । चे जस्तै मेस्सी पनि अर्जेन्टिनाको रोयारियोमा जन्मेका थिए । रोसारियोमा जन्मेका मेस्सी र चेको तुलना मेस्सीले तलब नहुने कर्मचारीलाई आफ्नो तलब दिन गरेको त्यागको कारण मात्रै चर्चा गरिन्न । उनको कप्तानीको कारण पनि चर्चा गरिन्छ । अर्जेन्टिनाका कप्तान मेस्सीले उनको करिअर बनाउने क्लब बार्सिलोना छोड्ने निर्णय सार्वजनिक भएको समयमा समेत अर्जेन्टिनाका सडकका भित्ताहरूमा उनी र चेको तुलना गरेर भित्ते चित्रहरु कोरिए ।

सन २०२० अगस्ट २९ मा अर्जेन्टिना चर्चित कलाकार टिभीबोइले मेस्सीलाई चे ग्वेभाराको हुलियाको झल्को आउने खालको प्रस्तुत गरेर भित्ते चित्रहरु बनाए । टिभीबोइले चेको आइकोनिक ह्याटमा सजिएर हिँडेका मेस्सीको चित्र बनाए । ती तस्बिरहरूलाई सामाजिक सञ्जालमा राखेर उनले क्याप्सन लेखे: ‘आस्था सिएम्प्रे कमान्दान्ते ।‘ जसको अर्थ हुन्छ सधैँलाई कमान्डर । यो कुनै एक क्याप्सन मात्रै हैन ल्याटिन अमेरिका र खासगरी स्पेनिस भाषी दुनियाँमा चे ग्वेभारालाई समर्पित गरेर लेखिएको एक बहुचर्चित गीतको बोल हो । उक्त बोलको गीतलाई युट्युबमा करोडौँले हेरेका छन् । क्युवामा त यो गीत राष्ट्रिय गान जत्तिकै लोकप्रिय छ ।

फ्रान्सको अखबारदेखि अर्जेन्टिनाका कलाकारले मेस्सी र चे जोडेका हैनन् । म्यारोडोना जस्तो चेको ट्याटु खोपेर चेकै लाइनको राजनीतिक बोली बोल्दैनन् मेस्सी । उनलाई खेलसँग मात्रै सरोकार छ । राजनीतिकसँग छैन । फेरि पनि, मेस्सी आफैँ चेलाई मन पराउने खेलाडी हुन् । उनले ११ वर्ष अगाडि नै यस बारेमा छनक दिइसकेका छन् । सन २०११ मा यस बारेमा एक मिडियामार्फत सार्वजनिक मञ्चमा उनले चे मन पराएको कुरा भनेका थिए । अर्जेन्टिनाको म्यागेजिन ‘ला गारगान्ता पोदेरोसा’लाई अन्तरवार्ता दिँदा मेस्सीले चेको तारिफ गरेका थिए । त्यो तारिफ धेरै विश्व मिडियाहरूले पटक पटक साभार गरेका छन् । मेस्सीले चेको ताफिर गर्दा म्यारोडोना जोड्दै भनेका थिए, ‘जब म डियागो म्यारोडोना र चे ग्वेभाराका झन्डाहरू विश्वमा जताततै देख्छु त्यसमा मेरो ठूलो भावना जोडिएको छ ।’

कतिपयले मेस्सीले कुनै समयमा गोल गरेपछि सेलिब्रेसन गर्दा चेको तस्बिर भएको भित्री टिसर्ट देखाएको भन्दै आएका छन् । जुन तथ्य जाँचमा गलत साबित भइसकेको छ । बङ्ला डट बुमलाइभ डटइनका तथ्य जाँचकी सिस्ता मुखर्जीले यो हल्ला गलत भएको तथ्य जाँच सन २०२१ जुन १८ मै प्रकाशन गरेका थिए । तथ्य जाँचमा गलत प्रमाणित भइसकेको तस्बिर नेपाली सामाजिक सञ्जालमा भने अहिलेसम्म फन्को मारिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर