लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउन सांसद घिमिरेले थाले पहल – Nepal Press

लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउन सांसद घिमिरेले थाले पहल

रुपन्देही । रुपन्देही क्षेत्र नं ५ मा रहेको बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माणको पहल सुरु भएको छ । यस क्षेत्रमा स्तरीय अस्पताल नहुँदा स्थानीय र पर्यटकलाई समस्या परेको विषय पटक–पटक उठे पनि अहिलेसम्म समाधान हुनसकेको छैन ।

यसबीच यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले उक्त समस्या समाधानमा पहल लिएका छन् । सांसद घिमिरेको अगुवाइमा यस विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, शहरी विकास विभाग र लुम्बिनी विकास कोषका पदाधिकारीहरु सम्मिलित बैठक आइतबार काठमाडौंमा बसेको छ ।

महिला तथा बालबालिकाको उपचारलाई प्राथमिकता दिने गरी आठ बिगा क्षेत्रफलमा तीन सय शय्याको अस्पताल बनाउने योजना छ । बैठकले अस्पतालको डीपीआर बनाउने, अस्पतालको लागि छुट्याइएको जग्गामा तारबार गर्नेलगायतका निर्णय गरेको सांसद घिमिरेले जानकारी दिए ।

उनले आफूले निर्वाचनका वेला पनि लुम्बिनीमा सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै अस्पताल निर्माणको लागि आवश्यक प्रक्रिया छिटो अघि बढाउन पहल थालेको सुनाए । यसका लागि सबै क्षेत्रमा समन्वय गर्न आफू क्रियाशील रहने उनले बताए ।

बैठकमा शहरी विकास विभागको नाममा रहेको सो जग्गामा अस्पताल बनाउन थाई सरकारले पनि सहयोग गर्ने जनाएको र लुम्बिनी विकास कोषले जग्गा भोकाधिकारको समन्वय, दातृनिकायसँग परराष्ट्रले समन्वय गर्न सो क्षेत्रको जनप्रतिनिधिका हिसाबले सांसद बासुदेव घिमिरेले समन्वय गर्ने समझदारी बनेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *