सीके राउत भन्छन्- गठबन्धनलाई बहुमत पुर्‍याइदिन्छौं, मधेसको मुख्यमन्त्रीमा हाम्रो दाबी हुन्छ (भिडिओ) – Nepal Press

सीके राउत भन्छन्- गठबन्धनलाई बहुमत पुर्‍याइदिन्छौं, मधेसको मुख्यमन्त्रीमा हाम्रो दाबी हुन्छ (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनलाई नपुग सीट पुर्‍याउन आफ्नो पार्टी तयार रहेको बताएका छन् । तर गठबन्धनबाट प्रधानमन्त्री को बन्ने भनेर आफूले नरोज्ने उनले प्रष्ट पारेका छन् ।

निर्वाचन आयोगको जलपान समारोहमा सहभागी भएका राउतले मधेस प्रदेशकोम मुख्यमन्त्रीमा आफने पार्टीले दाबी गरेको बताए । उनले केन्द्र सरकारमा सहभागी हुन आफूहरु तयार रहेको भन्दै सत्ता गठबन्धनलाई आवश्यक सीट संख्या पुर्‍याइदिने प्रष्ट पारे ।

उनले सत्ता गठवन्धनसँग मिलेर सरकारमा जान आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन् । तर, अरु विकल्पहरुमा पनि पार्टी खुल्ला रहेको भन्दै उनले बार्गेनिङको रणनीति लिन सक्ने संकेत गरे ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै राउतले गठवन्धनसँग आफ्नो पार्टी घनिभूत छलफलमा रहेको तर, निष्कर्षमा नपुगेको बताए ।
उनले भने, ‘उहाँहरुसँग घनिभूत छलफल भइरहेको छ र सहमति निकट छौं । तर, अरु विकल्पमा पनि हामी खुल्ला छौं । जोबाट हाम्रो माग सम्वोधन हुन्छ, उसैलाई समर्थन गर्ने हो ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट बारे सोधिएको प्रश्नमा उनले भने, ‘त्यो शिष्टाचार भेट मात्रै थियो ।’
राउतले मधेसको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दावी गरेका छौ । हाम्रो संख्या मधेसमा निर्णायक छ । जनताले पनि जनमतलाई हेरौं भनेर चाहेका छन् ।’

केन्द्रमा देउवा र प्रचण्डमध्ये कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले त्यो आफूहरुको कुरा नभएको बताए ।
‘नेतृत्वको विषयमा निर्णय लिने काम उहाँहरुको हो । हामीले बहुमतका लागि अपुग सिट पुर्याइदिन सक्छौं,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर