पेट्रोलियम पदार्थको ढुवानी भाडामा उद्योगमन्त्री बडूको हस्तक्षेप, निगमलाई वार्षिक ४० करोड थप भार – Nepal Press

पेट्रोलियम पदार्थको ढुवानी भाडामा उद्योगमन्त्री बडूको हस्तक्षेप, निगमलाई वार्षिक ४० करोड थप भार

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीको भाडा वृद्धि भएको छ । भाडा बढाउन महिनौदेखि प्रयास गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयल निगमको सञ्चालक समितिले निर्णय नलिँदा आफैँ हस्तक्षेप गरेका हुन् । व्यवसायीले भाडावृद्धिका लागि लबिङ गर्दै आएका थिए । सीमित व्यवसायीको स्वार्थका लागि मन्त्रीले ‘जस्केला’ बाट निर्णय गरेको भन्दै मन्त्रालयकै केही उच्च कर्मचारी असन्तुष्ट छन् ।

बडूको निर्णयमा निगमका कार्यकारी निर्देशक थानीले अहिले साथ दिएको निगमका एक अधिकारी बताउँछन् ।

स्रोतले भन्यो, ‘निगमका केही कर्मचारी भाडा वृद्धिको विरोधमा थिए । तर, मन्त्रीको कार्याकाल सकिनै लाग्दा मन्त्री बडू र थानी सर दुईजनाको मिलेमतोमा ढुवानी भाडा बढाइयो ।’

भाडा वृद्धि गर्दा निगमलाई भार थपिने भएकाले कर्मचारीले विरोध गरिरहेका थिए । सञ्चालक समितिमा रहेका अर्थमन्त्रालय र वाणिज्य सचिव तोयम राय पनि असहमत थिए । सञ्चालक समितिका मन्त्री बडूले यो निर्णयका लागि निरन्तर दबाब दिइरहेका थिए ।

निगम भित्र र वाहिर ढुवानी भाडा वृद्धि गर्ने विषयमा चर्को विरोध हुँदा हुँदै पनि ८ देखि १० प्रतिशत ढुवानी भाडा वृद्धि भएको छ । यसबाट निगमलाई मासिक रूपमा साढे ३ करोडभन्दा धेरै भार थपिने छ ।

नेपाल आयाल निगमले केही सयमअघि गरेको भाडा समायोजनसम्बन्धी अध्ययनले १० प्रतिशत भाडा वृद्धि हुँदा ८० करोडभन्दा धेरै निगमलाई भार थपिने निष्कर्ष निकालेको थियो । अहिले पेट्रोलियम पदार्थ ढुवानीमा झण्डै १९ सय ट्यांकर प्रयोगमा छन् ।

समायोजन भनेर बढाइएको ढुवानी भाडाअनुसार १५ किलोमिटरसम्म ३ सय ८२ रूपैयाँ १८ पैसा वृद्धि भएको छ । अब वीरगञ्जदेखि थानकोट पेट्रोल आइपुग्दा ६ हजार भाडा वृद्धि भएको हो । भने, वीरगञ्जदेखि र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा ६ हजार ६ सय ९० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पेट्रोलियम पदार्थ ढुवानीको भाडा ८ देखि १० प्रतिशत वृद्धि भएको बताए ।

यो निर्णय नियमित प्रक्रिया भएको दाबी गर्दै उनले भने, ‘अहिलेको भाडा वृद्धि नियमिति प्रक्रिया नै हो । यो उपसचिवको संयोजनमा अध्ययन कमिटी नै बनाएर त्यो कमिटीले दिएको रिपोर्टको आधारमा बढाइएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *